

मोहन पौडेल
परासी, १२ कात्तिक । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले चुनावका लागि भयरहित वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । उहाँले संसद पुनःस्थापनाको माग उठाएर देशलाई फेरि पछि धकेल्न नहुनेमा जोड दिनुभयो ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता त्रिपाठीले आन्दोलनको नाममा अपराध गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“भदौ २३ को नरसंहारका दोषिलाई कारवाही गर्नुपर्छ,भदौ २४ को विद्रोहमा आन्दोलनकारी र अपराधी छुट्याएर अपराधिलाई कारवाहीको दायरामा ल्याउनुपर्छ, अन्यथा समाजमा अपराधिकरण बढ्छ”, उहाँले भन्नुभयो ।
त्रुटिपूर्ण संविधान र दुई तिहाइको सरकारको दम्भका कारण जेनजी विद्रोह भएको उहाँको दाबी थियो । उहाँले अव चुनाव मार्फत नै देशलाई निकास दिनुपर्ने बताउँदै जनता नै अन्तिम निर्णायक शक्ति भएको उल्लेख गर्नुभयो ।
नेता त्रिपाठीेले नेपालको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासन प्रणाली सफल नहुने धारणा व्यक्त गर्नुभयो । उन्नत संसदीय शासन प्रणाली नै उत्तम विकल्प हुने उहाँको भनाइ थियो ।
कूल एक करोड ५७ लाख रुपैँयाको लागतमा सुविधा सम्पन्न वडा कार्यालय निर्माण गरिएको वडा अध्यक्ष ह्यात खाँ धुनियाले दैनिक ट्वान्टीफोर खबर अनलाइनलाई जानकारी दिनुभयो । जसमा संघीय सरकार र सरावल गाउँपालिकाको आधा÷आधा लगानी रहेको छ । २०८० फागुन १४ गते शिलान्यास गरिएको उक्त भवन गत जेठ १८ गते सम्पन्न भएको थियो तर उद्घाटन नहुँदै जेनजी आन्दोलनको निशानामा परी तोडफोड तथा आगजनी भएपछि पुनः मर्मत गरी उद्घाटन गरिएको वडा अध्यक्ष धुनियाले बताउनुभयो ।
एक तलाको उक्त भवनमा ६ वटा कोठा रहेका छन् । नयाँ भवनबाट सेवा सुचारु भइसकेको वडा अध्यक्ष धुनियाले जानकारी दिनुभयो । यसअघि हाल वडा नं. ६ मा पर्ने साविक भुजहवा गाविसको जीर्ण भवनबाट उक्त वडाको सेवा प्रवाह हुँदै आएको थियो ।