

मोहन पौडेल
परासी, १२ कात्तिक । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले प्रदेशका नागरिकलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निर्मम भएर लागिरहेको बताउनुभएको छ ।
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा बुधबारदेखि भूमहीमा शुरु भएको आ.व.२०८१।०८२ मा नवलपरासी जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्र्दै मन्त्री सारुले चिकित्सकको आकर्षण कम रहेका जिल्ला अस्पतालहरुबाट पनि नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न विशेषज्ञ चिकित्सकहरुलाई खटाइएको बताउनुभयो ।
”रुपन्देही बाहेक अन्य ठाउँ चिकित्सक र स्वास्थ्यकर्मीहरुको आकर्षणको केन्द्र बन्न सकेको छैन्,पृथ्वीचन्द्र अस्पतालसहित प्रदेशका ११ वटा जिल्ला अस्पतालहरुमा चिकित्सक खटाउने र सेवा सुविधा दिने, औषधी र उपकरण उपलब्ध गराउने कार्य हामीले निर्मम तरिकाले गर्यौँ, अहिले त्यहाँका नागरिकको ती अस्पतालहरुप्रति विश्वासको वातवारण बनिरहेको छ,दैनिक बिरामीहरुको चाप बढ्दो छ”, उहाँले भन्नुभयो ।
मन्त्री सारुले चिकित्सकहरुले आफू कार्यरत सरकारी अस्पताल बाहेक अन्य स्वास्थ्य संस्थाहरुमा अनुमति विना सेवा दिन नपाउने गरी प्रतिबन्ध लगाइएको बताउनुभयो । चिकित्सकले आफूले सेवा दिनुपर्ने अस्पताल भन्दा बाहिर धेरै समय दिने गरेको गुनासो आएकोले उक्त कदम चाल्नुपरेको बताउँदै मन्त्री सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जनशक्तिको व्यवस्थापनलाई विशेष ध्यान दिइएको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका सातै स्थानीय तह, स्वास्थ्य कार्यालय तथा गैरसरकारी साझेदार निकायहरुले वार्षिक रुपमा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रस्तुती गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । भोलीसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशको कृषि समितिका सभापति विश्वप्रेम पाठक, प्रदेश सभा सदस्य द्धय बैजनाथ कलवार, खड्ग बस्नेत,जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, सुनवल नगर प्रमुख बिमला अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले बताउनुभयो ।