मोहन पौडेल/दैनिक24 खबर
परासी, ५ कात्तिक । किशोर तथा युवाहरुलाई हिन्दु धर्म संस्कृतिको संरक्षणमा जागरुक बनाउन पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्राथमिक शिक्षा वर्ग प्रशिक्षण शुरु भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल रामग्राम नगर समितिको आयोजनामा मंगलबार साँझबाट शुरु गरिएको प्रशिक्षण सात दिनसम्म आवासीय रुपमा सञ्चालन हुनेछ ।
हिन्दु संस्कार संस्कृति सम्बन्धि सचेतना एवं नैतिक शिक्षा दिने उद्देश्यले सञ्चालित साताव्यापी प्रशिक्षण आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने हिन्दु स्वयंसेवक संघ नेपाल रामग्राम नगर संघचालक विद्या सागर शर्माले दैनिक ट्वान्टीफोर खबर डटकमलाई जानकारी दिनुभयो । प्रशिक्षणमा रामग्राम नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट आएका ६० जना किशोर र युवाहरु सहभागि रहेको उहाँले बताउनुभयो ।
१५ देखि ४० वर्ष भित्रका विद्यार्थीहरु सहभागि उक्त प्रशिक्षणमा परम्परादेखि चल्दै आएको हिन्दु संस्कार संस्कृतिलाई अगाडि बढाउन विशेषगरी व्यवहारिक, सामाजिक र सांस्कारिक शिक्षा प्रदान गरिने मूख्य प्रशिक्षक हिन्दु स्वयंसेवक संघ लुम्बिनी प्रदेश सम्भाग प्रचारक पंकज शर्माले बताउनुभयो ।
“मूल उद्देश्य संस्कार दिनु हो, व्यक्तिको हृदयमा देशभक्तिको भाव जागरण गर्नु हो, हामीले शारीरिक विकास, बौद्धिक विकास, अनुशासन, संस्कार लगायतका विषयमा प्रशिक्षण दिन्छौँ,यहाँबाट प्राप्त हुने ज्ञानले समाज र राष्ट्रको हितका लागि अनुशासित र संगठित भएर काम गर्ने उत्प्रेरणा हुनेछ”, उहाँले भन्नुभयो ।
दैनिक विहान शारीरिक व्यायाम तथा खेल, योगाबाट शुरु हुने प्रशिक्षणमा बौद्धिक प्रशिक्षण एवं राष्ट्र, राष्ट्रियता, देशभक्ति,धर्म संस्कृति र संस्कारको अवलम्बन,अध्यात्म लगायतका विषयमा ज्ञान प्रदान गरिने सघले जनाएको छ । प्रशिक्षणको माध्यमबाट विद्यार्थीहरुमा शारीरिक, मानसिक र सामाजिक जागरण प्राप्त हुनेछ ।
प्रशिक्षणमा प्रशिक्षक र प्रशिक्षार्थी सबै एकै ठाउँ बस्ने,खाने, सुत्ने समान व्यवस्था गरिएकोे संघका नगर सहचालक अनिल उपाध्यायले बताउनुभयो। “असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यले हिन्दु स्वयंसेवक संघले प्रत्येक वर्ष आयोजना गर्ने यस किसिमका प्रशिक्षणमा प्रशिक्षार्थीहरुलाई व्यक्तिगत जीवनलाई संस्कारिक बनाउने र आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुरामा पनि प्रशिक्षण दिने गरिन्छ”, उहाँले भन्नुभयो ।
हिन्दु धर्ममाथि भइरहेको चौतर्फी प्रहारलाई निरुत्साहित गर्दै हिन्दु समाजलाई संगठित गर्न यस किसिमका प्रशिक्षण महत्वपूर्ण हुने हिन्दु श्रमिक संघका प्रदेश चालक अनिल अग्रहरीले बताउनुभयो । सात दिने वर्ग प्रशिक्षण कार्यक्रमको लागि आवश्यक खर्च व्यवस्थापनको कार्य स्थानीय समाजसेवी तथा व्यवसायीहरुबाट भएको छ । प्रशिक्षण आदर्श मावि परासीमा सञ्चालन भइरहेको छ ।