मोहन पौडेल
परासी, ३ कात्तिक । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि मुस्ताङको प्रसिद्ध मुक्तिनाथ धामबाट शुरु भएको गजेन्द्रनारायण–मुक्तिनाथ रथयात्रा सोमबार पश्चिम नवलपरासीको सदरमुकाम परासी आइपुगेको छ ।
रथयात्राको टोलीलाई रामग्राम–३ घोडपालीमा रहेको लक्ष्मीनारायण एवं नर्वदेश्वर मन्दिरमा भव्य स्वागतसहित नगर परिक्रमा गराइएको थियो । रथयात्राको अवसरमा मन्दिरमा विशेष धार्मिक अनुष्ठान तथा आरति गरिएको थियो ।
मुक्तिनाथमा लगाइएको छ महिने लामो महायज्ञको समापन पश्चात गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ भगवानको रथारोहण र जल प्रसाद सहितको रथयात्रा मुस्ताङ,बाग्लुङ,पर्वत, स्याङजा,तनहुँ, कास्की,चितवन, पाल्पा,कपिलवस्तु र रुपन्देही हुँदै आज पन्ध्रौ दिनमा पश्चिम नवलपरासी आइपुगेको हो ।
विश्वशान्ति,राष्ट्र कल्याण र सनातन धर्मसंस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यका साथ मुक्तिनाथ बाबा(स्वामी कमलनयन आचार्य)को सत्संकल्पमा मुक्तिनाथ धाममा चैत शुक्ल नवमी(रामनवमी)देखि विजयादशमीसम्म महायज्ञको लगाइएको मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्य(करपात्री)ले जानकारी दिनुभयो । रथयात्रा आजै त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा समापन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
परासी आइपुगेको रथयात्रालाई प्रदेशसभा सदस्य बैजनाथ जयसवाल,गजेन्द्रमोक्ष दिव्य धाम विकास समितिका संस्थापक सदस्य वीरेन्द्र अग्रहरी, रामग्राम नगरपालिकाका पूर्व मेयर नरेन्द्र गुप्ता,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी,लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी,लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अमरचन्द अग्रवालसहित सदस्यहरु,नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्र अग्रहरी, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अर्जुन क्षेत्री, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव,नागरिक समाजका सचिव अनिल अग्रहरी,परासी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष दिनेश उपाध्याय, रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरी, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्याल लगायत धार्मिक तथा सामाजिक व्यक्तित्वहरुले स्वागत गर्नुभएको लक्ष्मीनारायण मन्दिरका पुजारी गिरीराज पाण्डेयले जानकारी दिनुभयो ।
भक्तजनहरुलाई रथयात्रामा रहनुभएका मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्य (करपात्री)ले जल अभिषेक,तिलक तथा प्रसाद वितरण गर्नुभएको थियो।
फोटो फिचर