प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।
दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धन त्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ ।
सायङ्कालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटिकाका दिनसम्म यमदीपदान गरिन्छ ।
कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए ।
सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ ।
कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ ।
यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवं गोवर्द्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म ९म्ह० पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म ९म्ह० पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ ।
कात्तिक ६ गते बिहीबार भाइटिका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटिकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।
भाइटिका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटिका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकलामा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने उनले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।