मोहन पौडेल
परासी, २३ भदौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका सरोकारवाला निकायहरू जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्दै आएको प्रत्यक्ष प्रभावप्रति सचेत हुन थालेका छन् ।
विशेषगरी स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतका सरोकारवालाहरु जलवायु परिवर्तनका कारण सिर्जना हुने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै त्यसको प्रतिकार्य गर्न सक्षम भएका हुन् ।
सुस्तामा विगत एकवर्षदेखि जलवायु सहनशील स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालनमा आएपछि यहाँका सरोकारवाला निकायमा जलवायु परिवर्तनको असरप्रति सचेतना आएको हो ।सुनवलमा आयोजित परियोजनाको समिक्षा तथा योजना कार्यशालामा उक्त जानकारी गराइएको हो ।
तापक्रममा हुने तीव्र वृद्धि, अनियमित वर्षा, वायु प्रदूषण र मौसमी रोगहरूको बढ्दो प्रकोपलाई जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा जोड्दै उनीहरु स्वास्थ्य सुरक्षामा ध्यान दिन थालेको परियोजनाका संयोजक अनुप खड्काले जानकारी दिनुभयो । विशेषगरी डेंगु, मलेरिया, सरुवा रोग, श्वासप्रश्वाससम्बन्धी समस्या र मानसिक स्वास्थ्यमा पर्ने असरबारे परियोजनाले यहाँका सरोकारवालालाई सचेत गराउँदै प्रतिकार्यमा जुट्न अग्रसर गराएको हो ।
यो परियोजना दक्षिण एसियामै पहिलोपटक नेपालको सुस्तामा परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो । क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले सञ्चालन गरिरहेको यो परियोजनाले जलवायु परिवर्तनबाट निम्तिने विपद्को सामना गर्न समेत सक्षम बनाएको छ । जलवायु परिवर्तनका कारण सुस्तामा विशेषगरी बाढी, आगलागी,लु, शितलहर जस्ता विपदको सामना गर्नु परिरहेको छ ।
परियोजनाले यस्ता विपदबाट जुध्न आवश्यक जनशक्तिसहित औषधी र उपकरणको व्यवस्थापन गरेको छ । सुस्ता गाउँपालिकामा रोग फैलिएमा व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुनुका साथै गाउँपालिकाले आवश्यक प्रतिकार्य योजना तथा रणनीति तर्जुमा गरी लागू गरेको परियोजना संयोजक खड्काले बताउनुभयो ।
गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई जलवायु परिवर्तनमैत्री बनाउने कार्य भइरहेको छ भने कुडिया स्वास्थ्य चौकीलाई नमूना बनाउने गरी कार्य अघि बढेको छ ।
परियोजनाले सुस्तामा जलवायुु परिवर्तन कसरी भइरहेको छ, यसको जोखिम र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर खोज अनुसन्धान पनि गरेको छ ।
अनुसन्धानबाट प्राप्त नतिजालाई मध्यनजर गर्दै आगामी डिसेम्बरसम्म परियोजनाले स्वास्थ्य प्रणाली सुधारमा केन्द्रीत हुने, निगरानी प्रणाली प्रभावकारी बनाउन जनशक्ति तयार गर्ने र समुदाय स्तरमा थप सचेतना फैलाउने गरी काम गर्ने योजना बनाएको संयोजक खड्काले बताउनुभयो ।
सुस्ता गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराइले यो परियोजना लागू हुनुपूर्व जलवायु परिवर्तन र यसले स्वास्थ्यमा पार्ने असरबारे कुनै एजेन्डा नै नबन्ने गरेकोमा अहिले यसबारे यहाँका सबै सरोकारवाला सचेत हुँदै गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा बहसको विषय बनाएको बताउनुभयो ।
सुस्तामा विशेषगरी घरभित्रको धुँवा,औद्योगिक प्रदुषण,बाली विशेषमा गरिने आगजानी लगायत जलवायु परिवर्तनका मुख्य कारण देखिएका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्माले आफ्नो स्वास्थ्यको लागि व्यक्ति आफैले जिम्मेवारी लिने गरी लागेमात्र स्वास्थ्य प्रणाली सुदृढ हुने बताउनुभयो । जलवायु परिवर्तनकै कारण जिल्लामा किटजन्य, पानीजन्य रोगको संक्रमण व्याप्त रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जलवायु परिवर्तनका कारण स्वास्थ्यमा पर्ने असरबाट बच्न,यसबाट हुने संकट व्यवस्थापन गर्न र जोखिम निम्तिन नदिन पूर्व तयारीका लागि बनाइएको प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्दै सबै सरोकारवाला सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरीले परियोजना लागू भएपछि बाढीको प्रकोपबाट स्वास्थ्यमा देखिने असर र त्यसको प्रतिकार्यका बारेमा विशेष योजना बनाइएको बताउनुभयो । जलवायु परिवर्तनबाट कृषि,वातावरण लगायत जुन क्षेत्रमा असर परेपनि त्यसबाट मानवको स्वास्थ्यमा प्रभाव पर्ने भएकोले यसको न्यूनीकरणका लागि सबै सरोकारवाला मिलेर लाग्नुपर्ने उहाँको भनाइ थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले सुस्ता अन्र्तराष्ट्रिय स्तरमा चर्चामा रहेको क्षेत्र भएकोले पनि यस क्षेत्रमा जलवायु परिवर्तनका कारण स्वास्थ्यमा भइरहेको असर र यसको व्यवस्थापनका लागि नेपालमै पहिलोपटक यो परियोजना सञ्चालन गरिएको बताउनुभयो ।
क्यानेडियन रेडक्रसका एसिया प्यासाफिक क्षेत्रका स्वास्थ्य व्यवस्थापक रमेश न्यौपानेले सुस्तामा सञ्चालन गरिएको यो परियोजनाको सिकाइबाट बंगलादेश र पाकिस्तानमा पनि यो परियोजना शुरु गरिएको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक दीपक पोखरेलले जलवायु परितर्वनले स्वास्थ्यमा पार्ने असर,त्यसको न्यूनीकरणमा भइरहेको अभ्यास र अब गर्नुपर्ने कार्यहरुप्रति चनाखो हुन जोड दिनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलको सञ्चालन र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन क्षेत्रीको स्वागत रहेको थियो ।