मोहन पौडेल
परासी, २२ भदौ । पश्चिम नवलपरासी जिल्लाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक समिक्षा तथा स्थानीय तहको असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिको आयोजनामा आज परासीमा भएको उक्त कार्यक्रममा जिसस, जिल्लाका सबै स्थानीय तह तथा संघ र प्रदेश मातहतका विषयगत सरकारी कार्यालयहरु गरी २० वटा निकायले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्लामा सञ्चालित योजनाहरुको सन्तुलन कायम गर्न, एक अर्काका असल अभ्यास अनुशरण गर्न तथा समस्याहरुको मिलेर समाधान गर्न आपसी समन्वय र सहकार्य गर्ने उद्देश्यले वार्षिक समिक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो । संविधानले नै जिससलाई समन्वय र सहकार्य गर्ने अधिकार दिएकोले जिल्लामा सञ्चालित योजनाहरुलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिले भूमिका खेल्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिनसभा सदस्य एवं पूर्वमन्त्री धु्रबबहादुर प्रधानले जिल्लाको विकासमा सबै जनप्रतिनिध एकमतका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय तहमा जुनसुकै दलबाट निर्वाचित भएर आएपनि आपसी समन्वय र सहकार्यबाट जिल्लाको विकासमा लाग्न सकेमात्र लक्ष्यमा पुग्न सकिने उहाँले बताउनुभयो ।
सांसद प्रधानले स्थानीय तहले एकअर्काका असल अभ्यासको अनुशरण गर्दै जनताका प्रत्यक्ष सरोकारका क्षेत्रमा विशेष जोड दिएर विकास गर्न सुझाव पनि दिनुभयो । बजेट कसले कसरी ल्यायो भनेर जस लिने होडबाजीलाई त्यागेर कसरी धेरै बजेट र योजना ल्याउने भन्नेमा लाग्न उहँको जोड थियो।
उक्त अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य द्धय खड्ग बस्नेत, बैजनाथ जयसवाल, स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।