मोहन पौडेल
परासी, १८ भदौ । विद्यालय शिक्षा विद्येयकप्रति असहमति जनाउँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन(नेसनल प्याब्सन) नवलपरासीले सरकारको ध्यानाकर्षण गराएको छ ।
एन प्याब्सनको प्रतिनिधि टोलीले आज नवलपरासीका प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै शिक्षा विद्येयक सच्याउन माग गरेको हो ।
एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद पाण्डेय, लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष डिल्लीराम काफ्ले, प्रदेश सदस्य सूर्यनाथ पटेल,जिल्ला अध्यक्ष रोहित गौड, उपाध्यक्ष रामबहादुर कुर्मी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
एन प्याब्सनले शिक्षा विद्येयकमा प्रस्ताव गरिएको निजी लगानीका विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाइने भन्ने शब्द हटाउनुपर्ने,पूर्ण छात्रवृत्तिको सट्टामा छात्रवृत्ति मात्र राखिनुपर्ने,सामाजिक सुरक्षा कोष अनिवार्य नभइ स्वच्छिक हुनुपर्ने र पूर्व प्राथमिक कक्षाहरु दुई वर्ष नभई तीन वर्ष हुनुपर्ने माग राखेको छ ।
अन्य संघ संगठनले आन्दोलन चर्कारहेको भएपनि एन प्याब्सनले भने निजी विद्यालयको माग वार्ता र संवादबाटको माध्यमबाट समाधान खोजिरहेको केन्द्रीय सदस्य रामप्रसाद पाण्डेले बताउनुभयो । एन प्याब्सन विद्यालय बन्द, हडतालको पक्षमा नरहेको बताउँदै उहाँले निजी विद्यालयलाई अफ्ठ्यारोमा पार्ने काम सरकारले गर्न नहुनेमा जोड दिनुभयो।
एन प्याब्सनका जिल्ला अध्यक्ष रोहित गौडले निजी लगानीका शैक्षिक संस्थालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । अहिले सडक आन्दोलनमै जाने पक्षमा एन प्याब्सन नभएपनि समय आएपछि सडकमा पनि जाने तर वार्ताकै माध्यमबाट समस्या समाधान गरिनुपर्नेमा आफूहरुको जोड रहेको उहाँले बताउनुभयो ।