२०८२ भाद्र १७, मंगलबार
24 खबर अपडेट

विपी जयन्तीको अवसरमा नवलपरासी कांग्रेसका साताव्यापी कार्यक्रम तय, कोइरालाले सम्बोधन गर्ने

२०८२ भाद्र १७, मंगलबार प्रकाशित ( घण्टा अघि) १५९ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । नेपाली कांग्रेस पश्चिम नवलपरासीले विपी जयन्तीको अवसरमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमहरु तय गरेको छ । विपी जयन्ती मनाउनका लागि जिल्ला कार्यसमितिले गठन गरेको उपसमितिले सप्ताहव्यापी कार्यक्रमहरु तय गरि आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
मंगलबार सम्पन्न उपसमितिको बैठकबाट साताव्यापी रुपमा आयोजना गरिने कार्यक्रमहरुको निर्णय गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नवलपरासीका प्रवक्ता राधेश्याम पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार उपसमितिका संयोजक एवं पार्टीका कार्यबाहक जिल्ला सभापति विक्रम प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले पार्टीका संस्थापक सभापति, नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहनुभएका विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्ती प्रदेश र संघीय क्षेत्र तथा जिल्ला स्तरमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
जिल्लाको क्षेत्र नं.१ अन्र्तगत प्रदेश सभा (२)मा भदौ २४ गते र प्रदेशसभा(१) मा भदौ २५ गते विपी जयन्ती मनाइने छ । यस्तै क्षेत्र नं. २ अन्र्तगत प्रदेशसभा(१)मा भदौ २६ गते र प्रदेशसभा (२) मा भदौ २७ गते प्रदेश क्षेत्रीय समितिको अगुवाइमा विपी जयन्ती मनाइने प्रवक्ता पाठकले बताउनुभयो ।
संघीय क्षेत्रीय समिति मार्फत क्षेत्र नं. १ मा भदौ २८ गते र क्षेत्र नं. २ मा भदौ २९ गते मनाउने कार्यक्रम तय भएको छ । सप्ताहव्यापी कार्यक्रमको असोज ३ गते संविधान दिवसका दिन परासीमा भव्य समारोहकाबीच समापन गरिने र उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।
यसैबीच नेपाली कांग्रेस नवलपरासीले आगामी असोज ३ गते क्षेत्र नं. १ का अन्र्तगतका वडाहरुमा गर्ने भनिएको वडा सम्मेलन असोज ५ गतेका लागि सारेको छ । असोज ३ गते वरिष्ठ नेता शेखर कोइरालाको उपस्थितिमा विपी जयन्ती मनाउने कार्यक्रम तय भएकोले ३ गते हुने भनिएको वडा सम्मेलन सारिएको कांग्रेसका कार्यबाहक सभापति विक्रम यादवले जानकारी दिनुभयो । क्षेत्र नं. २ मा भने असोज ४ गते नै वडा सम्मेलन हुनेछ । कात्तिक मसान्त भित्र जिल्ला सम्मेलन गर्ने कांग्रेसको तयारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस