२०८२ भाद्र ७, शनिबार
24 खबर अपडेट

नेपाली कांग्रेस नवलपरासीले सप्ताहव्यापी कार्यक्रमसहित विपी जयन्ती मनाउने,वडा सम्मेलन पनि हुँदै

२०८२ भाद्र ७, शनिबार प्रकाशित ( घण्टा अघि) १२७ पाठक संख्या

मोहन पौडेल
परासी, ७ भदौ । नेपाली कांग्रेस पश्चिम नवलपरासीले सप्ताहव्यापी कार्यक्रमका साथ भव्य रुपमा विपी जयन्ती मनाउने भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको शुक्रबार बर्दघाटको पञ्चनगरमा सम्पन्न बैठकले पार्टीका संस्थापक सभापति, नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहनुभएका विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्ती सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको हो ।
पार्टीका कार्यबाहक जिल्ला सभापति विक्रम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले आगामी भदौ २४ गतेदेखि सप्ताहव्यापी रुपमा विपी जयन्ती मनाउन यादवकै संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको पार्टीका जिल्ला प्रवक्ता राधेश्याम पाठकले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
साप्ताहिक रुपमा मनाइने कार्यक्रमहरु भने सोही समितिले तय गर्नेछ । वि.स. १९७१ साल भदौ २४ गते जन्मिनु भएका कोइरालाले वि.संं २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएको थियो ।
राणाशासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने वि.सं. २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला वि.संं २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रवक्ता पाठकका अनुसार जिल्ला कार्यसमितिको बैठकले तरुण दलको जिल्ला अधिवेशन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न सहजीकरणका लागि कमल थापाको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति गठन गरेको छ ।
यसैबीच नेपाली कांग्रेस नवलपरासीले आगामी कात्तिक मसान्त भित्र जिल्ला सम्मेलन गर्ने योजना समेत बनाएको छ । जिल्ला सम्मेलनअघि वडादेखि क्षेत्रीय सम्मेलन गरिसक्ने कांग्रेसको तयारी छ । जस अन्र्तगत आगामी असोज ३ र ४ गते एकैपटक वडा सम्मेलन गर्ने निर्णय गरिएको प्रवक्ता पाठकले बताउनुभयो । उहाँका अनुसार ३ गते क्षेत्र नं. १ अन्र्तगतका सबै वडामा र ४ गते क्षेत्र नं २ अन्र्तगतका सबै वडामा एकैपटक वडा सम्मेलन हुनेछ ।
नवलपरासी कांग्रेसले पार्टीको कार्यक्रम तथा नीति बनाउन जिल्ला सचिव कुलदीप आचार्यको संयोजकत्वमा तपचन्द्र विश्वकर्मा र जयराम बस्याल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ । समितिले वडादेखि क्षेत्रसम्मको सम्मेलन सकिएपछि जिल्ला सम्मेलनमा पेश गर्ने गरी वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र नीतिको मस्यौदा निर्माण गर्ने जनाइएको छ । जिल्ला कार्यसमितिको निर्णयलाई अवज्ञा गर्ने वा कार्यान्वयन गर्न आलटाल गरिए कारवाही गरिने प्रवक्ता पाठकले चेतावनी समेत दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस