मोहन पौडेल
परासी, ११ साउन । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित पश्चिम नवलपरासीको सुनवलमा विभिन्न निजी विद्यालयहरु मिलेर नयाँ शैक्षिक समूह बनाइएको छ । एड्युब्रिज एलायन्स (शैक्षिक सहकार्य समूह) नाम दिइएको यस समूहमा हाल सुनवल नगरपालिका भित्र सञ्चालित आधा दर्जन निजी विद्यालय आवद्ध भएका छन् ।
शिक्षामा नवीनता,पारदर्शिता र गुणस्तरीय स्वस्थ प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने लक्ष्य सहित शैक्षिक सहकार्य समूहको शुरुवात गरिएको साकुँरा मेमोरियल बोर्डिङ स्कुल सुनवलका प्रिन्सिपल सुमित पाठकले बताउनुभयो । “निजी विद्यालयहरुबीच आपसी समन्वय र सहकार्यबाट सहयोगी सम्बन्ध कायम गर्र्र्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।
समूहले प्रभावकारी शिक्षण सिकाइ,तालिम,स्वस्थ प्रतिस्पर्धा तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै निजी विद्यालयहरुको हकहितमा काम गर्ने जनाएको छ । समूहमा थप विद्यालयहरुलाई समेत आबद्ध गरी केही दिनमै समिति गठन गरिने पाठकले उल्लेख गर्नुभयो ।
यसैबीच शैक्षिक सहकार्य समूहले आफ्नो पहिलो कार्यक्रमको रुपमा शनिबार उक्त समूहमा आवद्ध निजी विद्यालयका आधारभूत तहका शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम गरेको छ । शिक्षकहरुलाई उत्पे्ररित गर्दै शिक्षण कार्यलाई प्रभावकारी बनाउन उक्त तालिम सञ्चालन गरिएको द पायनियर सेकेण्डरी बोर्डिङ स्कुल सुनवलका प्रिन्सिपल कृष्णप्रसाद शर्माले बताउनुभयो ।
प्रशिक्षक मनिष देव मिश्राको प्रशिक्षण रहेको उक्त तालिममा ६ वटा निजी विद्यालयका ७० बढी शिक्षकहरुको सहभागिता थियो ।उक्त तालिममा आधुनिक शिक्षण विधि,बालमैत्री सिकाइ वातावरण,शिक्षक आचरण, विद्यार्थी मनोविज्ञान लगायतका विषयमा प्रशिक्षण गरिएको थियो ।
तालिमको उद्घाटन गर्दै प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले शिक्षकको दक्षता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर कायम गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । समयानुकूल शिक्षकहरुले प्रभावकारी शिक्षण पद्धति, नवीन प्रविधिको प्रयोग तथा नैतिकताको विषयमा विशेष ध्यान दिन आवश्यक रहेको भन्दै उहाँले आगामी दिनमा थप प्रशिक्षण तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
कक्षामा प्रवेश गरिसकेपछि शिक्षक कसरी प्रस्तुत हुने,कक्षालाई सक्रिय र प्रभावकारी कसरी बनाउने र सिकाइ उपलब्धी हासिल गर्न विद्यार्थीलाई सहज वातावरण कसरी बनाउने लगयातका विषयमा यस तालिमले शिक्षकहरुलाई अभिप्रेरित गरेको सुनवल प्याब्सनका अध्यक्ष चोलाकान्त रेग्मीले बताउनुभयो ।
उक्त अवसरमा सुनवल लोटस स्कुलका प्रिन्पिसल नरिश्वर पौडेल,नेत्र रिजाल लगायतले पनि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।