मोहन पौडेल
परासी, १० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नवनिर्मित अस्पताल भवन, डायलायसिस सेवा तथा आँखा उपचार सेवाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विरामीलाई सेवा नदिई रिफर गर्ने प्रवृत्ति अन्त्य गर्न समेत निर्देशन दिनुभयो ।
अस्पतालको नवनिर्मित ५० शैय्याको भवन उद्घाटनसँगै अब यस जिल्लावासीले विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा यही अस्पतालको माध्यमबाट प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“मैले नजिकबाट बुझे अनुसार यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ, जसले बाहिर गएर महंगो उपचार सेवा लिन असमर्थ हुनुहुन्छ,त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गरेको छ र सरकारको तर्फबाट यो अस्पताललाई आफैमा आत्मनिर्भर बनाउन हरेक क्षेत्रका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याउन धेरै पहलकदमी लिएको छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो ।
पृथ्वीचन्द्र अस्पतालमा आवश्यक थप विशेषज्ञहरुको पूर्ति गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री आचार्यले सेवा दिने भन्दा रिफर गर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,“यहाँका चिकित्सक साथीहरुलाई म निर्देशन दिन चाहन्छु,तपाईहरुले हरप्रयत्न गरेर सकेसम्म बिरामीहरुलाई जटिल रोग बाहेकका उपचार सेवा यहीँबाट प्रदान गर्नहोस्, मैले सुन्ने गरेको छु,यहाँ कतिपय विरामीहरुलाई यहाँ उपचार भन्दा रिफर गर्न आनन्द मान्ने खालको प्रवृत्ति पनि छ भन्ने सुनेको छु,भोलीका दिनहरुमा ती कुराहरु सुन्न नपरोस्”