मोहन पौडेल
परासी, ७ साउन । पश्चिम नवलपरासीका सिलाई व्यवसायीहरुले विद्यालय पोशाक सिलाइमा भइरहेको सिण्डिकेट हटाउन माग गरेका छन् । नवलपरासी टेलरिङ्ग व्यवसायी संघले आज परासीमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै सिण्डिकेट अन्त्यको माग गरेको हो ।
संघका जिल्ला अध्यक्ष राजु देवानको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीले स्वतः स्फूर्त रुपमा आफूले रोजेको सिलाई व्यवसायीसँग पोशाक सिलाउन पाउने व्यवस्थाको सुनिश्चितता गर्न माग गरेको हो ।
विद्यालयहरुले विद्यार्थीलाई तोकिएको टेलर व्यवसायीसँग मात्र विद्यालय पोशाक सिलाउन भनी सिण्डीकेट लगाउँदा अन्य सिलाइ व्यवसायी मारमा परेको संघका अध्यक्ष देवानले बताउनुभयो । विद्यालयले कमिसनको लोभमा कुनै एक टेलर व्यवसायीसँग सम्झौता गर्ने र विद्यार्थीलाई सोही व्यवसायीकाहाँ मात्र पोशाक सिलाउनु भनी सिण्डीकेट गर्दा समस्या भएकोले विद्यालय पोशाक सिलाउने कार्यका लागि सकेसम्म टेण्डर नगर्ने व्यवस्था मिलाउन संघले आग्रह गरेको छ ।
आम सिलाइ व्यवसायीको हितका लागि आफूहरुले उक्त माग गरेको अध्यक्ष देवानले बताउनुभयो । संघको अगुवाइमा परासीस्थित घण्टाघर चोकबाट विरोध र्यालीसहित जिल्ला प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ भण्डारीले सम्बन्धित पक्षसँग छलफल गरी कानून बमोजिम गर्न सकिने पहल गर्ने जानकारी दिनुभएको थियो ।