२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा केही खुकुलो बनाउँदै असार ७ सम्म निषेधाज्ञा थप, पुस्तक पसल खुल्ने

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) १२२० पाठक संख्या

मोहन पौडेल
परासी, ३१ जेठ – नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता लम्बाईएको छ । यसअघि जारी निषेधाज्ञाको समय आज राति १२ बजेपछि सकिने भएकोले थप एक साता थपेर असार सात गतेसम्म निषेधाज्ञा लम्बाईएको हो ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा तल झरे पनि ग्रामीण क्षेत्रमा नघटेकोले केही खुकुलो गरेर निषेधाज्ञा बढाईएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले राससलाई जानकारी दिनुभयो ।
थप गरिएको निषेधाज्ञा अवधिमा नयाँ शैक्षिक शत्रलाई मध्यनजर गर्र्दै पुस्तक पसल सञ्चालन गर्न दिईने जनाईएको छ । यसैगरी बैङ्क तथा बित्तीय संरुथाहरु अव दैनिक खुल्न पाउने भएका छन् । यसअघि एक दिन बिराएर दैनिक १० बजेदेखि एक बजेसम्म खुल्ने गरेकोमा अव दैनिक बिहान दश बजेदेखि तीन बजेसम्म बैङ्क तथा बित्तीय संस्था खुल्नेछन् ।
खाद्यन्न, तरकारी लगायत अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु बिहान पाँचबजेदेखि नौ बजेसम्म मात्र खुल्ने गरेकोमा अव बिहान पाँच बजेदेखि दिउँसो दुई बजेसम्म खुल्ने प्रजिअ मिश्रले बताउनुभयो । तर हाटबजार वा धेरै भीडभाड हुने गरी तरकारी लगायतका वस्तु बिक्री गर्न पाईनेछैन् ।
यस्तै सरकारी कार्यालयको सेवा सुचारु गर्नका लागि पूर्व तयारी गर्न निर्देशन गरिएको छ । कार्यालय परिसर सरसफाइ गर्ने, सेवाग्राही बस्ने स्थानमा मार्किङ् गर्ने, साबुन पानीले हात धुने व्यवस्था तथा सेनिटाईजर र थर्मल गनको व्यवस्था गरी तयारी अवस्थामा रहन भनिएको छ भने अत्यावश्यक सेवाहरु न्यूनतम कर्मचारीको उपस्थितिमा आलोपालो प्रणालीबाट गर्न भनिएको छ ।
निषेधाज्ञाको अबधिमा अत्यावश्यक काममा बाहेक कोहीपनि घर बाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न भनिएको छ ।भारतसँग सीमा जोडिएका नाकाबाट आवातजावत पूर्णरूपमा बन्द गरिएको छ । सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त निगरानी बढाइएको छ ।
जिल्लाको मुख्य सीमानाका महेशपुर भन्सारबाट प्रवेश गर्ने अत्यावश्यक वस्तु तथा कच्चापदार्थ ढुवानीका सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको जाँच गरी राति नौ बजेपछि मात्रै आवातजावत गर्ने व्यवस्था मिलाईएको प्रजिअ मिश्रले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवाका बाहेक निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ । विवाह तथा मृत्यु संस्कारमा पन्ध्र जनाभन्दा बढी सहभागी हुन नपाईने र स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत कामदारलाई सम्बन्धित उद्योग वा कार्यरत स्थलभित्र राख्ने व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।
निषेधाज्ञाको उल्लङ्घन गर्ने तथा आदेशको पालना गर्ने क्रममा अबरोध गर्ने माथि सङ्क्रामक रोग ऐन २०२०,कोभिड १९ सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो । जिल्लामा गत बैशाख २१ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै आएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%४%१%१%

प्रतिक्रिया दिनुहोस