२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नवलपरासीमा डेंगुका बिरामी बढ्दै, सतर्कता अपनाउन आग्रह

२०८१ श्रावण १७, बिहिबार प्रकाशित ( महिना अघि) ३७४ पाठक संख्या

मोहन पौडेल
परासी, १७ साउन । पश्चिम नवलपरासीमा डेंगु रोगका बिरामीको संख्या बढ्न थालेका छ । जिल्लामा हाल ७१ जनामा डेंगु संंक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नवलपरासीसहित हालसम्म देशका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । यस वर्ष जिल्लाको रामग्राम नगरपालिकामा २१ जना, बर्दघाट नगरपालिकामा ४७ जना र पाल्हीनन्दन गाउँपालिकामा ३ जना गरि ७१ जनामा डेंगु भेटिएको स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्षमा जिल्लामा ३०० बढी डेंगु संक्रमित फेला परेका थिए । अहिले वर्षायामको समय रहेकोले डेगुका बिरामी बढ्न थालेको पौडेलले बताउनुभयो । डेंगु रोग लागेपछि यसको ठोस उपचार नभएको बताउँदै उहाँले लक्षण अनुसारको उपचार गरिने भएकोले डेंगु संक्रमणबाट बच्न सावधानी र सतर्कता अपनाउनुपर्ने उहाँको भनाई छ ।
“वर्षायाम सुरुवात भएसँगै सकिएपछि पनि यसको प्रभाव केही समय रहन्छ,सतर्कता अपनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । डेंगुको संक्रमण फैलिन थालेपछि जिल्लामा स्वास्थ्य सचेतना शिक्षा तथा लार्भा खेोज र नष्ट गर अभियान सञ्चालनको तयारी गरिएको छ ।
बढ्दो शहरीकरणका कारण गाउँपालिकाको तुलनामा नगरपालिका बजार क्षेत्रमा डेंगुको जोखिम देखिएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताउनुभयो । स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुलाई डेंगु नियन्त्रण सम्बन्धि अभिमुखीकरण गरि जिल्लामा पालिकास्तरबाट सचेतना तथा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
डेंगुका बिरामी फेला पर्न थालेपछि रामग्राम नगरपालिकाले सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान सञ्चालनको तयारी थालेको नगर उपप्रमुख सम्झना चौधरीले बताउनुभएको छ । नगरपालिकाले बुधबार पालिकास्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल पनि गरेको छ ।
विद्यालय शिक्षा, पर्चा पम्पलेट,माईकिङ्सहित समुदाय परिचालन गरि डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न शुरु गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । वडा स्तरमा पनि अभिमुखीकरण गरि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।
पृथ्वीचन्द्र अस्पालका डा.किरण पाण्डेका अनुसार एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट डेंगु संक्रमण हुन्छ । यो सफा पानीमा बस्न मन पराउँछ । ज्वरो आउने, असाध्यै टाउको दुख्ने,आँखाको गेडी तथा आँखाको पछाडिको भाग दुख्ने, टाउको, पेट,ढाड जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएकामा तत्काल स्वास्थ्य संस्थामा गई उपचार गर्नुपर्ने डा.पाण्डेले बताउनभुयो ।
डेंगुबाट बच्न घर वरिपरि सफा राख्ने,पानी जम्ने खाल्टाखुल्डी पुर्ने, सुत्दा झुलको प्रयोग गर्ने,सकेसम्म हातखुट्टा ढाक्ने गरि लुगा लगाउने लगयातका सुरक्षाका उपाय अपनाउनुपर्ने चिकित्सक बताउँछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस