२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास : छात्रछात्रा एउटै कोठामा, शैक्षिक सामग्री पनि अभाव

२०८० चैत्र २०, मंगलबार प्रकाशित ( महिना अघि) ३०८ पाठक संख्या

मोहन पौडेल
परासी, २० चैत । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सञ्चालित दृष्टिविहीन छात्रावासमा भौतिक संरचना अभाव हुँदा छात्रछात्रा एउटै कोठामा बस्न बाध्य छन् । परासीको आदर्श नमूना माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि भौतिक संरचना अभाव भएको हो ।
भवन अभावकै कारण दृष्टिविहीन स्रोत कक्षामा अध्यनरत छात्रछात्राहरु दृष्टिविहीन छात्रावास भवनको एउटै कोठामा रात विताउन बाध्य भएको स्रोत कक्षाका शिक्षक भोजराज पाण्डेले बताउनुभयो । २०५५ सालदेखि दृष्टिबिहीन स्रोत कक्षा सञ्चालन हुँदै आएपनि भौतिक संरचना अभावको विषयमा स्थानीय,प्रदेश र संघ तीनै तहका सरकारको ध्यान नपुगेको उहाँले गुनासो गर्नुभयो ।
कक्षा १२ सम्मै पढाई हुँदै आएको उक्त छात्राबासमा अहिले १० जना छात्रा र १२ जना छात्र गरि २२ जना दृष्टिविहीन विद्यार्थी र एक जना स्रोत कक्षाका दृष्टिविहीन शिक्षक बस्दै आएका छन् । छात्रावासमा खाना बाहेक अन्य सबै समस्या रहेको शिक्षक पाण्डेले बताउनुभयो ।
संघीय सरकारले प्रति विद्यार्थी रु चार हजारका दरले मासिक रुपमा दिँदै आएको छ । सोही रकमबाट छात्रावासमा बस्ने छात्रछात्राहरुको खाना, खाजा,कपडा लगायतको खर्च व्यवस्थापन गर्नुपरेको शिक्षक पाण्डेले बताउनुभयो । उहाँका अनुसार अन्य निकायबाट कुनै सहयोग नभएकोले यहाँ अध्ययनरत विद्यार्थीहरुले भौतिक संरचनाको साथसाथै शैक्षिक सामग्रीको पनि अभाव खेपिरहेका छन् ।

दृष्टिविहीन स्रोत कक्षाका लागि भौतिक संरचना अभाव भएका कारण छात्रावासमा बस्ने केटाकेटीलाई एउटै कोठामा बसाल्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले बताउनुभयो । नमूना विद्यालयको रुपमा अन्य संरचना बनिरहेको तर दृष्टिविहीन स्रोत कक्षाका लागि भवन बनाउन कतैबाट सहयोग प्राप्त नभएकोले तत्कालै व्यवस्थपन गर्न कठिनाई भएको उहाँको भनाई छ ।
ठाउँ अभावकै कारण विद्यार्थीहरु एउटै कोठामा पढ्ने र सुत्ने गर्दछन् । एउटै कोठामा धेरै जना बस्ने र पढ्ने गर्दा पढाईमा डिस्टर्ब भई राम्रोसँग अध्ययन गर्न नपाइने गरेको स्रोत कक्षाका विद्यार्थीहरुको गुनासो छ । सरकारले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको भने पनि यहाँ अध्यनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीले ब्रेल लिपीका पाठ्यपुस्तक समेत पाएका छैनन् ।
परीक्षामा समेत बे्रल लिपीको प्रश्नपत्र नहुँदा दृष्टिविहीन विद्यार्थीलाई समस्या हुने गरेको छ । ब्रेल प्रिन्टर भईदिए पनि धेरै सहज हुने स्रोत शिक्षक पाण्डेले बताउनुभयो । प्रयोगात्मक सामग्री नहुँदा पनि दृष्टिविहीन विद्यार्थीलाई अध्यापनमा समस्या रहेको उहाँको भनाई छ ।
छात्रावास भवनमा २०/२२ वर्षसम्मका केटाकेटी एउटै कोठामा बस्ने गरेकोले छात्राहरुलाई जोगाउन समस्या पर्ने गरेको विद्यालयले जनाएको छ । स्थापनाकाल देखि नै यहाँ अध्यनरत दृष्टिविहीन विद्यार्थीको हेरचाह गर्दै आउनुभएकी लक्ष्मी सुनारले विगतमा स–साना विद्यार्थी पढ्ने गर्दा खासै समस्या नभएपनि अहिले १२ कक्षा सम्म पढ्ने विद्यार्थी भएकोले छुट्टाछुट्टै कोठा अत्यन्त आवश्यक रहेको बताउनुहुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस