२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

मधेसको संस्कृति संरक्षण गर्न सरावलमा प्रथम मधेस महोत्सव हुने

२०८० चैत्र १०, शनिबार प्रकाशित ( महिना अघि) ७७१ पाठक संख्या

मोहन पौडेल
परासी, १० चैत । रंगहरुको पर्व होलीको अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पहिलो पटक मधेस महोत्सव हुने भएको छ । मधेसको पहिचान र संस्कृति संरक्षण गर्ने उद्देश्यले यस क्षेत्रमै पहिलो पटक मधेस महोत्सव सञ्चालन गर्न लागिएको हो ।
यही चैत १३ र १४ गते हुने महोत्सव सरावल गाउँपालिका वडा नं.४ स्थित निर्माणाधीन मधेस सांस्कृतिक पार्कमा आयोजना हुने सरावल ४ का वडा अध्यक्ष सुरेश यादवले जानकारी दिनुभयो । सरावल गाउँपालिकाको कार्यालय र सरावल ४ नम्बर वडा कार्यालयको सहयोगमा मधेस संंस्कृति संरक्षण संस्था सरावल ४ ललितपुरको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो ।
महोत्सवको मूख्य आकर्षणको रुपमा चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्तीबाजहरुको सहभागितामा विराट कुस्ती दंगल प्रतियोगिता,मधेसको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राट्रिय कलाकारहरुको प्रस्तुती रहने वडा अध्यक्ष यादवले बताउनुभयो । जिल्लामा मात्र नभई नेपालमै पहिलो पटक मधेस महोत्सव आयोजना हुन लागेको उहाँको दाबी छ ।
विगतमा मधेसको अधिकारका लागि धेरै संघर्षहरु भएपनि मधेसका अधिकार स्थापित हुन नसकेको बताउँदै वडा अध्यक्ष यादवले आफ्नै क्षेत्रबाट लोप हुन लागेका मधेसको पहिचान र संस्कृति संरक्षण गर्न मधेस सांस्कृतिक पार्क निर्माण गर्न र मधेस महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । पार्क निर्माणका लागि तीनै तहका सरकारबाट सहयोग हुनुपर्ने अध्यक्ष यादवको भनाई छ ।
मधेसमा रहेका कला, भाषा, संस्कृति, पहिरन, रहनसहन उजागर र संरक्षण गर्न मधेस महोत्सव फलदायी हुने सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताउनुभयो । सरावल गाउँपालिका उत्तरतर्फ चुरे क्षेत्रदेखि दक्षिण भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र यहाँ थारु, मधेस र पहाडी समुदायको बसोबास रहेकोले यहाँ रहेको आपसी सद्भावलाई थप सुदृढ बनाउन गाउँपालिकाले थारु सांस्कृतिक पार्क र मधेस सांस्कृतिक पार्क निर्माणको कार्य अघि बढाएको अध्यक्ष चौधरीले बताउनुभयो ।
पार्कको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको माध्यमबाट यहाँको आर्थिक विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । पार्कमा मधेसका संस्कृतिहरु संग्रह गर्न संग्रालय पनि स्थापना गरिने पालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । मधेस सांस्कृतिक पार्क निर्माणका लागि यस वर्ष रु सात लाख बजेट विनियोजन गरि निर्माण कार्य अघि बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्क सम्पन्न गर्न रु ८ करोड लागत अनुमान सहितको डिपिआर पनि अन्तिम चरणमा रहेको छ । आगामी पुस्ताका लागि पुर्खाहरुले छोडेर गएका संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्न पनि यस किसिमका पार्कहरुको आवश्यकता रहेको अध्यक्ष चौधरीको भनाई छ ।
मधेस संस्कृति संरक्षण संस्थाका अध्यक्ष विष्णु यादवले मधेस सांस्कृतिक पार्क निर्माणसँगै मधेस महोत्सव सञ्चालन हुने लागेकोमा आफूहरु निकै हर्षित बनेको बताउनुभयो । यस कार्यले लोप भएको मधेसको संस्कृति जर्गेना गर्न र मधेसको पहिचान स्थापित गर्न महत्वपूर्ण टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । संस्थाका कोषाध्यक्ष दीपक सहानीले मधेसको नाममा स्थापना हुन लागेको पार्क र महोत्सव सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस