२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

खोप र आगामी लहरको कोभिडबाट बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी सरकारको प्राथमिकतामा – मन्त्री त्रिपाठी

२०७८ जेष्ठ २१, शुक्रबार प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

मोहन पौडेल
परासी, २१ जेठ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले खोपसँगैँ आगामी तेस्रो लहरको कोभिड १९ सङ्क्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताउनुभएको छ ।
आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड १९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकोले बालबालिका केन्द्र्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भईरहेको उहाँले बताउनुभयो ।
गृहजिल्ला नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को परासीमा आज पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले पचास लाख खोप दिने निर्णय गरेको भन्दै अमेरिकी सरकार र नेपालस्थित अमेरिकी राजदुतप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
खोप उत्पादक देशहरुसँग निरन्तर संवादमा रहेको बताउँदै मन्त्री त्रिपाठीले पहिलो चरणमा खोप लगाएका नागरिकलाई दोस्रो डोज लगाउन भारतबाट थप सात लाख डोज खरिद गरी सत्र लाख डोज खोप आउने सुनिश्चिता हुन लागेको जानकारी दिनुभयो ।
कोभिड १९ को उपचारको औषधी नभएकोले सरकारको पहिलो प्राथमिकता खोप नै रहेको बताउनुभयो । उहाँले आगामी चुनावसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाईसक्ने उल्लेख गर्नुभयो ।
रसियाले पनि आगामी डिसेम्बरसम्म ८० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको जानकारी दिदैँ मन्त्री त्रिपाठले चालिस लाख डोज खोप तत्काल पठाउन आफूले आग्रह गरेको बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष आज नै सरकारमा सहभागि हुन लागेको जानकारी दिनुभयो । उहाँले जसपाको ठाकुर र आफ्नो समूह मिलेर नयाँ पार्टी गठन गर्न लागेको भनेर गलत प्रचार गरिएको दाबी गर्नुभयो ।
मन्त्री त्रिपाठीले गत जेठ ५ गते नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शसस्त्र प्रहरीले हत्या गरेको बताउनुभयो । उक्त घटनामा शसस्त्र प्रहरीको ज्याददी र गैरजिम्मेवारपन देखिएको बताउनुभयो ।
सुस्ता गाउँपालिका—५ वनकट्टीस्थित भारतीय सीमा क्षेत्रमा स्थानीय र शसस्त्र प्रहरीबीच विवाद हुँदा स्थानीय २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । मन्त्री त्रिपाठीले मृतक भरको घरमा पुगि पीडित परिवारसँग घटनाबारे जानकारी पनि लिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस