२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासीमा जेठ २२ गतेसम्म निषेधाज्ञा लम्बाईयो

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित ( साल अघि) ७९२ पाठक संख्या

मोहन पौडेल
परासी,१५ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड १९ सङ्क्रमणको जोखिम कायमै रहेपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा थप एक हप्ता निषेधाज्ञा लम्बाईएको छ ।
यसअघि दोस्रो पटक थपिएको निषेधाज्ञाको समय आज राति १२ बजेपछि सकिन लागेकोले तेस्रो पटकमा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा गत वैशाख २१ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । पहिलो पटक वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएकोमा दोस्रो पटक जेठ एक गतेदेखि १५ गतेसम्म थपिएको थियो ।
तीव्र रुपमा फैलिरहेको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम,नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन कोभिड १९ सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८, सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गर्दै निषेधाज्ञा निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
निषेधाज्ञाको अबधिमा अत्यावश्यक काममा बाहेक कोहीपनि घर बाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न भनिएको छ । समुदायमा सङ्क्रमण थप फैलिन नदिन अत्यावश्यक वस्तु तथा सेवामध्ये ओैषधी,ईन्धन र पानी बाहेकका कुनै पनि पसल व्यवसाय सञ्चालन गर्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।
उहाँका अनुसार बैङ्क तथा वित्तीय संस्थाहरुको सेवा अर्को सूचना नआए सम्मको लागि फेरि पनि स्थगित गरिएको छ ।सङ्क्रमणको त्रासकाबीच बैङ्कहरुमा सर्वसाधारणको भिड लाग्दै आएपछि जेठ एकगतेदेखि नै बैङ्क तथा वित्तीय संस्थाहरु बन्द गरिएको छ ।
भारतसँग सीमा जोडिएका नाकाबाट आवातजावत पूर्णरूपमा बन्द गरिएको छ । सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त निगरानी बढाइएको छ । जिल्लाको मुख्य सीमानाका महेशपुर भन्सारबाट प्रवेश गर्ने अत्यावश्यक वस्तु तथा कच्चापदार्थ ढुवानीका सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको जाँच गरी राति नौ बजेपछि मात्रै आवातजावत गर्ने व्यवस्था मिलाईएको प्रजिअ मिश्रले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवाका बाहेक निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ । विवाह तथा मृत्यु संस्कारमा पन्ध्र जनाभन्दा बढी सहभागी हुन नपाईने र स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ ।
उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत कामदारलाई सम्बन्धित उद्योग वा कार्यरत स्थलभित्र राख्ने व्यवस्था मिलाउन निर्देशन गरिएको छ । निषेधाज्ञाको उल्लङ्घन गर्ने तथा आदेशको पालना गर्ने क्रममा अबरोध गर्ने माथि सङ्क्रामक रोग ऐन २०२०,कोभिड १९ सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय जिल्लामा सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या बढी छ । हाल जिल्लामा एक हजार ३९६ जना सक्रिय सङ्क्रमित छन् भने दुई हजार ५०३ जना निको भएका छन् । कोभिड १९ सङ्क्रमणबाट १२९ जनाले ज्यान गुमाईसकेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस