२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रामग्राममा पहिलो पटक आदर्श नमूना माविले शुरु गर्यो कक्षा ११ मा विज्ञान संकायको अध्यापन

२०८० श्रावण १५, सोमबार प्रकाशित ( साल अघि) ११५६ पाठक संख्या

मोहन पौडेल
परासी,१५ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान संकायको कक्षा सञ्चालन शुरु गरेको छ । विद्यालयले आज एक कार्यक्रम गरी विज्ञान संकायको कक्षा शुरु गरेको जानकारी दिएको हो ।
रामग्राम नगरपालिका भित्र कक्षा ११ मा विज्ञान संकाय अध्यापन गराउने आदर्श नमूना मावि पहिलो विद्यालय हो । विज्ञान संकायको कक्षा शुरुभएसँगै उक्त संकायको लागि निर्माण गरिएको विज्ञान प्रयोगशालाको पनि आजै उद्घाटन गरिएको छ । रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले उक्त प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै उपमेयर चौधरीले विज्ञान संकाय अध्ययन गर्न टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नगरमै विज्ञान संकाय सञ्चालन गर्ने यो एकमात्र विद्यालय भएकोले पनि यसलाई सबै मिलेर सफल पार्नुपर्ने उहाँले बताउनुभयो । उपमेयर चौधरीले विज्ञान संकाय सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश र संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि पनि पहल गर्ने उल्लेख गर्नुभयो ।

A22

“यहाँका विद्यार्थीहरु विज्ञान पढ्नै भनेर अब बुटवल,भैरहवा जानुपरेन,यहीँ पढ्न पाउँदा समय र पैसाको पनि बचत भएको छ, तसर्थ पनि हामी सबै मिलेर यसलाई सफल पारौँ”,उहाँले भन्नुभयो । उहाँले विद्यार्थीहरुलाई पनि अनुशासन पूर्वक मेहनत गरेर पढ्न आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल अग्रहरीले नमूना विद्यालय कार्यक्रम अन्र्तगत विज्ञान संकाय अनिवार्य भएकोले आजदेखि अध्यापन कार्य शुरु गरिएको बताउनुभयो । “जसले विज्ञान पढ्न चाहनुहुन्थ्यो,तर आर्थिक अभाव थियो,घरदेखि धेरै टाढा जानुपथ्र्याे,त्यसकारणले पढ्न पाउनुभएको थिएन,त्यो आवश्यकतालाई आज हामीले पूरा गरेका छौँ”,उहाँले भन्नुभयो ।
अध्यक्ष अग्रहरीले अनुशासित र नियमित भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष अग्रहरीले छात्राहरुलाई विज्ञान संकायतर्फ आकर्षित गर्न भर्नामा निःशुल्क गरिएको तथा मासिक शुल्कमा पनि पचास प्रतिशत छुट गरिएको जानकारी दिनुभयो ।
हालसम्म कक्षा ११ विज्ञान संकायमा करिब ३० जना विद्यार्थी भर्ना भएको र भर्ना हुने क्रम अझै बढ्ने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो । विज्ञान संकाय सञ्चालनका लागि छुट्टै विज्ञान भवन, प्रयोगशाला तथा जनशक्तिको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । विद्यालयमा विज्ञानसहित कानून, व्यवस्थापन र शिक्षा संकायमा नेपाली र अंग्रेजी दुवै माध्यममा अध्यापन भईरहेको प्रअ भट्टराईले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई ढुक्क भएर अध्ययन गर्ने वातावरण विद्यालयले बनाएको पनि दाबी गर्नुभयो ।
उक्त अवसरमा नगर शिक्षा अधिकृत सुन्दर खनालले विज्ञान संकायको महत्व, विद्यालयले खेल्नुपर्ने भूमिका र नमुना विद्यालयको मापदण्ड लगायतका विषयमा अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवार,नेपाल सरकारका पूर्व उपसचिव देवेश कुमार मिश्रा,विद्यालय व्यवस्थापन समिति सदस्य सन्तोष श्रीवास्तव लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको विद्यालयका शिक्षक नीरज ज्ञवालीले जानकारी दिनुभयो । सोही अवसरमा विद्यार्थीहरुलाई पुस्तक पनि वितरण गरिएको थियो ।

A2

 

A3

 

A4

 

A5

 

A23

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस