२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवल नगरपालिकाले सञ्चालनमा ल्यायो एचडियुसहितको कोभिड अस्पताल

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) ८१६ पाठक संख्या

मोहन पौडेल

परासी, ९ जेठ – कोरोना सङ्क्रमितको चाप बढ्दै गएपछि नववलरासी(बर्दघाट सुुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट(एचडियु) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा दश शय्याको एचडियु र १९ शय्याको अक्सिजन जडित आईसोलेशन रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामै सुविधायुक्त अस्थायी कोभिड अस्पताल सञ्चालन गरेपछि भेन्टिलेटरमा राख्नुपर्ने बाहेकका कोरोना सङ्क्रमितको उपचारमा सहज भएको नगर प्रमुख भीमबहादुर थापाले दैनिक २४ खबर डटकमलाई जानकारी दिनुभयो ।
दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोभिड सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि नगरपालिकाले २४ औँ घण्टा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको निगरानी रहने गरी एचडियु र अक्सिजन सेवा सहितको आईसोलेशन रहेको कोभिड अस्पताल निर्र्माण गरेको उहाँले बताउनुभयो ।
सुनवल १ सोमनाथस्थित बाल सिकाई केन्द्रको दुई तले भवनमा अस्थायी अस्पताल सञ्चालन गरिएको हो । पहिलो तलामा अक्सिजनसहितको आईसोलेशन र दोस्रो तलामा एचडियु सेवा रहेको छ । भवनको नजिकै रहेको सुनवल जेसीजको भवनमा २४ औँ घण्टा एक जनाको दरले स्वास्थ्यकर्मी रहने गरी सचिवालय बनाईएको छ ।
“बेड अभावका कारण कुनै पनि नगरवासी उपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर हामीले सुविधायुक्त अस्थायी अस्पताल नै सञ्चालनमा ल्याएका हौँ”, नगर प्रमुख थापाले भन्नुभयो । जिल्लामा आईसीयु नहुँदा गम्भीर प्रकुतिका बिरामीलाई उक्त सेवाका लागि बुटवल, भैरहवा लैजानुपर्ने बाध्यता छ ।
बिरामीको चाप बढ्दै गएकोले उक्त सेवा भएका अस्पतालहरुमा पनि वेड नपाएर उपचार अभावमा अकालमै मृत्युवरण गर्नुपरेको अवस्था छ । एचडियु सेवा सञ्चालनका लागि आवश्यक पूर्व तयारी पूरा भएको र अब प्राविधिक दक्ष जनशक्ति थपेर तत्कालै शुरु गरिने नगर प्रमुख थापाले बताउनुभयो ।
अक्सिजन सहितको आईसोलेशन भने सञ्चालनमा छ । अहिले १४ जना सङ्क्रमितको उपचार भईरहेको नगरपालिकाले जनाएको छ । एचडियु सञ्चालनका लागि सर्वाेत्तम सिमेन्ट उद्योग प्रालिले करिब रु ७० लाख बराबरको मेडिकल उपकरणसहितको सामग्री उपलब्ध गराएको हो ।
अस्थायी अस्पतालमा अहिले दुई जना चिकित्सक र बाह्र जना स्वास्थ्यकर्मीहरु रहेको उक्त अस्पतालका डा.चन्द्रशेखर यादवले बताउनुभयो । एचडियु सेवाका लागि थप तीन जना चिकित्सक थप्न लागिएको नगर प्रमुख थापाले बताउनुभयो ।
कोभिड सङ्कट व्यवस्थापनमा सुनवल नगरपालिका जिल्लामै नमूना र अब्बल रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय बताउनुहुन्छ । “सुनवलमा व्यवस्थित तरिकाले कोरोना नियन्त्रणको प्रयास गरेको पाईएको छ, राम्रो व्यवस्थापन र स्तरीय सेवा दिएको छ, जनप्रतिनिधि, कर्मचारी तथा सुनवलवासी सबैको सक्रियता र सहयोगले यो सम्भव देखिएको हो”, उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार हाल सुनवलमा ४३५ सक्रिय सङ्क्रमित रहेका छन् भने ३३ जनाले कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनुपरेको छ ।
नागरिकको सुरक्षाका लागि नगरपालिकाले उपलबध स्रोत र साधनको उपयोग गर्दै सबै किसिमको प्रयास गरिरहेको बताउँदै नगर प्रमुख थापाले भन्नुभयो , “नागरिकलाई कसरी बचाउन सकिन्छ भनेर हामी निरन्तर लागिरहेका छौँ सबै सचेत नभएसम्म कोरोना विरुद्ध विजय हासिल गर्न सम्भव हुँदैन्”
नगरपालिकाले होम आईसोलेशनमा बसेका सङ्क्रमितको पनि घरमै पुगेर उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ । होम आईसोलनमा बसेकालाई अक्सिजन आवश्यक पर्दा तत्कालै उपलब्ध गराउने गरिएको छ भने चिकित्सकको परामर्श र १३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
“रातको समयमा कसैलाई गाह्रो भएमा स्वास्थ्यकर्मीले घरमै पुगेर जाँच गर्छन्, यदी अक्सिजन लेभल कम भए तत्कालै ल्याउने, एन्टिजिन परीक्षण गर्ने र कोभिड अस्पतालमा राख्ने यदी कोभिड नदेखिए अक्सिजन दिएर घरमै सेवा दिने गरिएको छ”, उहँले भन्नुभयो ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने वित्तिकै पिसिआर परीक्षण गर्न नगर प्रमुख थापाले आग्रह गर्नुभयो । पिसिआर टेष्ट गर्न चाहनेका लागि नगरपालिकाले हरेक दिन बुटवलसम्म लैजाने ल्याउने गरी यातायातको सुविधा व्यवस्था गरेको छ ।
“हामीकहाँ टेष्ट पनि बढी छ, दैनिक बीसदेखि ३० जनासम्म नगरवासी बुटवल पुगेर परीक्षण गरिरहनुभएको छ, यहाँबाट स्वाव सङ्कलन गरेर भैरहवा प्रयोगशालामा पठाउँदा नतिजा आउन धेरै दिन लागेपछि हामीले यो व्यवस्था गरेका हौँ”, उहाँले भन्नुभयो ।
नगरपालिकाले कोभिडको कारणले मृत्यु हुनेको घरमा कन्ट्याक्ट टे«सिङ्गमा परेकालाई एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको छ । नगरपालिकासँग रहेका तीन वटा एम्बुलेन्स मध्ये एउटा कोभिड बिरामी बोक्न, एउटा अन्य विरामी बोक्न र एउटा सुत्केरी बोक्न प्रयोग गरिएको छ ।
कोभिड सङ्कट व्यवस्थापन र सङ्त्रमणबाट नागरिकको ज्यान जोगाउन नगरपालिकाले थप रु २५ लाख बजेट रकमान्तर गरेको छ । “योजना काटेर भएपनि नागरिकको ज्यान जोगाउँछौ , बजेट कमी हुन दिदैनौ” , नगर प्रमुख थापाले भन्नुभयो ।
अस्पतालका डा.यादवले अधिकांश बिरामीहरु जटिल अवस्था भएपछि मात्र अस्पताल आउने गरेकोले समस्या भईरहेको बताउनुुहुन्छ,् । “सिरियस भएपछि अस्पताल आउने होईन, पहिले नै आउनुस , डाक्टरसँग परामर्श लिनुस, गाउँघरका मेडिकलको औषधीले गर्दा स्वास्थ्य गम्भीर भएपछि आउने गर्दा समस्या भएको छ, गलत औषधी प्रयोग नगर्नुस्”, उहाँले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस