२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

महलपोखरीको पर्यटन प्रवद्र्धन गर्न सुनवल नगरपालिका अघि बढ्यो, सरोकारवालासँग अन्तरक्रिया

२०७९ पौष ३०, शनिबार प्रकाशित ( साल अघि) १२२४ पाठक संख्या

मोहन पौडेल
परासी,३० पुस । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ४ स्थित महलपोखरी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सुनवल नगरपालिका अघि बढेको छ । महलपोखरी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटक आकर्षण गर्न नगरपालिकाले यहाँको पर्यटन प्रवद्र्धनको लागि पहल थालेको हो ।
सुनवल नगरपालिका–४ स्थित महाभारत र चुरे पर्वतको सङ्गमस्थलमा पर्ने महलपोखरी समुद्र सतहदेखि एक हजार २३ मिटर उचाइमा पर्दछ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल बजारबाट ११ किलोमिटर उत्तरतर्फ पहाडी कच्ची बाटो छिचोल्दै पुग्न सकिने यो ठाउँ पर्यटकीय दृष्टिकोणले रमणीय, सुन्दर तथा आकर्षक छ ।
परापूर्वकालदेखि नै मगर जातीको बसोबास रहेको यस स्थलमा सुनवल नगरपालिकाको पहलमा घरबास(होमस्टे) सञ्चालनको तयारी छ । पच्चीस घरधुरीको बसोबास रहेको सो क्षेत्रमा होम स्टे सञ्चालनको लागि अन्तिम तयारी भईरहेको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
महलपोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज नगरपालिकाले महलपोखरीमै गरेको अन्तरक्रिया कार्यक्रममा मेयर अर्यालले सुनवलमा धेरै भन्दा धेरै पर्यटक भित्राउने लक्ष्यका साथ यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा जोड दिएको बताउनुभयो । सुनवलबाट महलपोखरी पुग्ने पहुँच मार्ग निर्माणका लागि लुम्बिनी विकास प्राधिकरणसँग माग गरिएको बताउँदै उहाँले महेशपुरदेखि सुनवल महलपोखरी हुँदै पाल्पा जोड्ने बाटो निर्माणका लागि संघीय सरकारसँग पनि पहल गरिरहेको बताउनुभयो ।
महलपोखरीमा रहेको ऐतिहासिक गजदम्बा देवीको मन्दिरलाई पुनःनिर्माण, होम स्टे सञ्चालन, पहुँच मार्ग निर्माण तथा यस स्थलमा ध्यान केन्द्र निर्माणका लागि उच्च प्राथमिकताका साथ पहल भईरहेको मेयर अर्यालले बताउनुभयो । होम स्टे सञ्चालनको लागि यहाँ सामुदायिक भवन बनिसकेको छ भने होम स्टे घर तयार भईरहेका छन् । होम स्टे सञ्चालनको लागि स्थानीयलाई यसअघि तालिम प्रदान गरिएपनि फेरि एक पटक तालिम दिनुपर्ने आवश्यकता देखिएकोले तालिम दिएर यथाशीध्र होमस्टे सञ्चालन गरिने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले यस क्षेत्रमा होम स्टे सञ्चालन गर्न सकिए यहाँका नागरिकको जीवनस्तर बृद्धि हुने र परम्परागत भेषभुषा, सस्कृतिको पनि संरक्षण हुने बताउनुभयो । सबै मिलेर यहाँको पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने बताउँदै उहाँले वनभोज तथा विभिन्न कार्यक्रम,सभा समारोह महलपोखरीमै राखेर प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले नेपाल प्रकृत्ति र संस्कृतिले भरिपूर्ण मुलुक भएकोले यी क्षेत्रको सही सदुपयोग गरेर पर्यटन विकास गर्न सकिने बताउनुभयो । महलपोखरी यस क्षेत्रकै आकर्षण गनतव्य स्थल बन्न सक्ने सम्भावना भएकोले यस क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले महलपोखरीसहित नगरका धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धन गर्दै १३ वटै वडालाई जोडेर सुनवल सर्किट बनाउने अभियान शुरु गर्न लागिएको बताउनुभयो।
महलपोखरीलाई मनकामना देवीको बहिनीको रुपमा पनि लिने गरिएको स्थानीय बताउँछन् । महलपोखरीबाट उत्तरतर्फ हिमालका दृश्य, पहाड पर्वत तथा दक्षिणतर्फ तराईका विशाल फाँटको दृश्यावलोकन गरी प्रर्याप्त आनन्दको अनुभूति गर्न सकिन्छ । छोटो दूरीको यात्रा पश्चात् नै तराईवासीले पहाडी हावा, पानी र वातावरणमा रमाउनसक्ने भएकोले यहाँ विशेष गरी आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।
यस स्थानमा पाल्पाका तत्कालीन राजा मणिमुकुन्दसेन (द्धितीय) को पालामा बनेको ऐतिहासिक महलपोखरी (गजधम्बा) देवीको मन्दिर र सत्यवती बजैसँग जोडिएको पोखरीसमेत रहेको छ ।पाल्पाको तत्कालीन सेनवंशी राजा त्रिवेणीधाम आवातजावत गर्दा पुज्ने गरेको यहाँको गजदम्बा देवीको मन्दिरमा विसं १९८५ मा चढाइएको घण्ट अहिले पनि देख्न सकिन्छ ।
विजयादशमी तथा चैतेदशैँमा विशेष भीड लाग्ने यस मन्दिरमा विशेष शक्ति रहेको भन्दै भक्तजनले शक्तिपीठको रुपमा विशेष आस्था राख्ने गरेको वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीले बताउनुभयो । यहाँ भाकल गरेको मनोकामना पूरा हुने गरेकाले विशेष श्रद्धा, आस्था र विश्वास रहिआएको उहाँको भनाई छ । अहिले यस मन्दिरको जीर्णोद्वार गरिदैँछ । सो क्षेत्रमा प्राचीनकालमा महल (दरबार) र पोखरी रहेकोले यस ठाउँको नाम महलपोखरी रहन गएको किम्बदन्ती छ ।
महलपछि भत्किएको र पोखरी हालसम्म रहेपनि(पानी नभएको, खेतीपानीमा परिणत भएको) स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् । उचित प्रचारप्रसार र यातायातको असुविधाका कारण ओझेलमा परेको महलपोखरी पछिल्लो समय घुमफिर, मनोरम दृश्यावलोकन तथा वनभोजका लागि आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस