२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जिससको भूमिका प्रभावकारी बनाउने विषयमा दुई जिल्लाका जिसस प्रमुखहरुबीच छलफल

२०७९ अषाढ ९, बिहिबार प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

मोहन पौडेल
परासी, ९ असार । जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका नवनिर्वाचित प्रमुखहरुबीच भेटघाट तथा छलफल भएको छ । परासीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा दुई जिल्लाका प्रमुखहरुबीच आज जिससको भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल समेत भयो ।
जिसस पूर्वी नवलपरासीका प्रमुख बाबुराम विश्वकर्माको नेतृत्वमा आएको पदाधिकारी टोलीलाई जिसस पश्चिम नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले आफ्नो कार्यकक्षमा स्वागत गर्नुभएको थियो । दुवै प्रमुखहरुले एक आपसमा बधाई तथा शुभकामना पनि साटासाट गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य लक्ष्मी सुनारको समेत सहभागिता रहेको उक्त छलफलमा जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन थप पहल गर्ने दुवै जिल्लाका प्रमुखहरुबीच सहमति भएको छ । कानुनले जिम्मेवारी दिने तर आवश्यक कर्मचारी र स्रोत नदिँदा जिससको भूमिकालाई औपचारिकतामा सीमित गरिएको जिसस पूर्वी नवलपरासीका प्रमुख विश्वकर्माले बताउनुभयो ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र प्रदेशले जारी गरेका कानुनमा जिल्ला समन्वय समिति (जिसस) लाई जिल्लाभरका स्थानीय तहबीच समन्वय, समग्र योजनाको अनुगमन लगायत जिम्मेवारी दिइएको छ।
तर जिम्मेवारी पूरा गर्न प्राविधिक जनशक्ति, आर्थिक स्रोतलगायत अभाव रहेको जिसस पदाधिकारी बताउँछन् । प्राविधिक कर्मचारीबिना अनुगमनमा कठिनाई रहेको उहाँले बताउनुभयो ।
‘संघीयता आयो तर जिससलाई भूमिकाविहीन बनाइयो,जिससको भूमिका बढाउन सबैले पहल गर्नुपर्छ’ उहाँले भन्नुभयो । जिसस पश्चिम नवलपरासीका प्रमुख यादवले सीमित अधिकारकाबीच आफूले जिससको भूमिकालाई प्रभाकावरी बनाउन लागिपरेको बताउनुभयो । तर जिससलाई थप अधिकारसम्पन्न बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य सुनारले जिससलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा प्रदेशसभामा कुरा उठाउने बताउनुभयो । संघीयताअघि सम्म कार्यकारी अधिकार भएको जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा रूपान्तरण गरी समन्वयको अधिकारमात्रै दिँदा भूमिकाविहीन देखिएको हो । जिससको अधिकारसम्बन्धी कानुन परिमार्जन गर्नुपर्ने जिसस पदाधिकारीको माग छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस