२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवल नगरपालिकाद्धारा पहिलो लोकप्रिय निर्णय कार्यान्वयन पूर्व सरोकारवालासँग अन्तरक्रिया

२०७९ जेष्ठ २९, आईतबार प्रकाशित ( साल अघि) ११९५ पाठक संख्या

मोहन पौडेल
परासी, २९ जेठ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गरेको पहिलो लोकप्रिय निर्णय कार्यान्वयन गर्नु पूर्व सरोकारवालासँग अन्र्तक्रिया गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भएपछि नगर प्रमुख बिमला अर्यालले नगरका विशेषगरी विपन्न समुदायलाई लक्षित गरी मासिक पाँच हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
सोही घोषणा कार्यपालिकाबाट निर्णय भई साउन १ गतेबाट कार्यान्वयनको लागि नगर कार्यपालिकाबाट गठित खानेपानीको अवस्था अध्ययन कार्यदलले आज नगर भित्र क्रियाशिल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरेको हो । नवनिर्वाचित मेयर अर्यालले सुनवल नगरपालिकाका सबै घरधुरीमा आगामी तीन वर्ष भित्रमा एक घर एक धारा पुर्याउने संकल्प लिएको पनि बताउनुभयो ।
सुनवल नगरमा १५ हजार ८३१ घरधुरी मध्ये सात हजार घरधुरीमा मात्र धाराको पहुँच पुगेको र बाँकी घरधुरीमा धारा जडान गरी स्वच्छ पानी उपलब्ध गराउने नगर प्रमुख अर्यालको भनाई छ । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीलाई पहिलो प्राथमिकता दिएर जेठ ९ गते पदभार ग्रहण गर्दा नगरका विपन्न समुदायलाई पाँच हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गरी जेठ १८ गतेको कार्यपालिका बैठकबाट निर्णय गरिएको नगर प्रमुख अर्यालले बताउनुभयो ।
यस निर्णयले मासिक पाँच हजार लिटरसम्म खानेपानी उपभोग गर्दै आएका विपन्न नागरिक लाभावन्ति हुनेछन् भने धेरै पानी उपभोग गर्दै आएका नागरिकमा पानीको बचत गर्ने बानीको विकास हुने, चुहावट नियन्त्रण हुने,पानीको दुरुपयोग नियन्त्रण हुने र आयोजनालाई पनि आफ्नो कार्यक्षेत्र विस्तार गरी सबै उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
स्वच्छ पिउने पानीको उपभोग गर्न पाउनु नैसर्गिक अधिकार भएकोले विशेषगरी विपन्न समुदायलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउन यस किसिमको निर्णय गरिएको र सबैको सहयोग र साथको आवश्यकता रहेको उहाँले बताउनुभयो । खानेपानीको महशुलसँगै धारा जडान शुल्कमा पनि नगरपालिकाले एकरुपता ल्याउने अभियानमा रहेको नगर प्रमुख अर्यालले बताउनुभयो ।

20220612_164228

 

उक्त निर्णय कार्यान्वयनका लागि नगर कार्यपालिकाको बैठकले वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीको संयोजकत्वमा वडा नं. ७ का वडा अध्यक्ष नारायण आचार्य र कार्यपालिका सदस्य भगवती बस्याल सदस्य रहेको कार्यदल गठन गरी नगरमा खानेपानीको अवस्था,तथ्यांक र पाँच हजार लिटर सम्म निःशुल्क खानेपानी वितरण गर्दा खानेपानी उपभोक्ता सस्थालाई पर्ने व्ययभार र नगरपालिकाले लिनुपर्ने दायित्वको विषयमा प्रतिवेदन पेश गर्न निर्देशन गरे बमोजिम आज सरोकारवालासँग छलफल गरिएको कार्यदल संयोजक पंगेनीले बताउनुभयो ।
कार्यक्रममा सहभागि खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरुले पहिलो निर्णय नै जनमुखि गरेकोमाा खुशी व्यक्त गर्दै हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरु सुविधासम्पन्न अवस्थामा नरहेकोले नगरपालिकाले अनुदान उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन् । सहभागिहरुले सुनवलको पहाडी क्षेत्रमा खानेपानीको अभाव रहेकोले ती क्षेत्रमा नयाँ आयोजना थप गर्नुपर्ने र सुनवल वडा नं. १३ मा पनि आयोजना विस्तार गर्नुपर्ने सुझाव दिएको कार्यदलका सदस्य सचिव रेशम शर्माले बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरेले विपन्न समुदायलाई लक्षित गरी पाँच हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय नमूना र नेपालमै उदाहरणीय कार्य भएको बताउनुभयो ।
उहाँले खानेपानी आयोजनाहरुलाई सुविधा सम्पन्न बनाउने, पानीको महशुल र धारा जडान शुल्कमा एकरुपता ल्याउनुपर्ने,पानीको गुणस्तर जाँचका लागि नगर भित्रै ल्यावको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले सुनवल नगरपालिकाले गरेको पहिलो निर्णय सर्वप्रिय भएको भन्दै कार्यान्वयनका लागि सहजीकरण गर्न महासंघ तयार रहेको बताउनुभयो । उहाँले खानेपानी आयोजनालाई सहजीकरणका लागि नगरपालिकास्तरबाटै परामर्शदाताको व्यवस्था गरिदिनु आग्रह गर्नुभयो भने खानेपानीसँगै सरसफाइको क्षेत्रलाई पनि प्राथमिकता दिन जोड दिनुभयो ।
उक्त अवसरमा महासंघ सुनवल नगर अध्यक्ष दीपक राना, सचिव यज्ञ पाण्डे, सुनवल खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष खड्ग बस्नेत, रामनगर वृहत खानेपानी आयोजनाका अध्यक्ष कृष्णप्रसाद पाण्डे, अधेरीखोला खानेपानी आयोजनाका अध्यक्ष बालकृष्ण भट्टराई,लौकेश्वर बैराथनाथ खानेपानी आयोजनाका सचिव गुप्तबहादुर केसी, बडेरा खानेपानी आयोजनाकी व्यवस्थापक बुद्धिकला पाण्डे, घिउडल्ला खानेपानी आयोजनाका सचिव भविश्वर पराजुली,स्वाठी खानेपानी आयोजनाका सचिव ओमबहादुुर कुंवर लगायतले सुझाव दिनुभएको कार्यदल सदस्य एवं नगर कार्यपालिका सदस्य भगवती बस्यालले जानकारी दिनुभयो । सुनवलमा ९ वटा खानेपानी संस्था क्रियाशील रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%४%

प्रतिक्रिया दिनुहोस