२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राममा स्थानीय पाठ्यक्रम तयार हुँदै, स्थानीय पहिचान र मौलिकतालाई प्राथमिकता दिन सुझाव

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित ( साल अघि) ६६९ पाठक संख्या

मोहन पौडेल
परासी, १८ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमको मस्यौदामाथि छलफल तथा सुझाव सकलन गरिएको छ । नगरपालिकाले आज एक कार्यक्रम गरी पाठ्यक्रमको विषयमा विभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव लिएको हो ।
नगरपालिकाले आधारभूत तह(कक्षा एकदेखि आठसम्म)को स्थानीय पाठ्यक्रम निर्माण गर्र्दैछ । कार्यक्रममा सहभागिहरुले स्थानीय पाठ्यक्रममा स्थानीय पहिचान र मौलिक विषयलाई नै प्राथमिकता दिन सुझाव दिएका छन् ।
प्याब्सन रामग्रामका अध्यक्ष बलिराम यादवले स्थानीय भाषा, कला,संस्कृति, सम्पदाको विषयमा पाठ्यवस्तु निर्माण गर्दा सम्बन्धित क्षेत्रका विज्ञबाटै गहन अध्ययन अनुसन्धान गरुी लेखन कार्य गर्न सुझाव दिनुभयो । पाल्ही बहमुखी क्याम्पसका प्रमुख कैलाश ठाकुरले पाठ्यक्रममा स्थानीय लोपोन्मुख मौलिक गीत, भोजपुरी भाषा, रहनसहन, रीतिरिवाज संरक्षण हुने र नयाँ पुस्ताले सजिलै ज्ञान आर्जन गर्ने गरी पाठ्यवस्तु तयार गर्न सुझाव दिनुभयो ।
रामग्राम सगरमाथा एकेडेमीका प्रिन्सिपल अविनाश रेग्मीले स्थानीय पहिचानलाई जोड दिन आग्रह गर्नुभयो । उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डेले आर्थिक समृद्धि र आयआर्जनका गतिविधिलाई पनि पाठ्यक्रममा समावेश गर्न जोड दिनुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रदेखि नै लागू गर्ने तयारी गरिएको बताउनुभयो । नैतिक शिक्षाको अभावमा समाज विकृत्तितर्फ अघि बढीरहेको भन्दै उहाँले स्थानीय मौलिक संस्कृति, परम्परा र रीतिरिवाज तथा आफू बसोबास गरेको क्षेत्रको समग्र अवस्थाको विषयमा जानकारी गराउन स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । बाल्यकालमा सिकेका कुराको स्मरण बलियो रुपमा रहिरहने भएकोले पनि बाल्यकालदेखि नै यस किसिमका पाठ्यक्रम लागू गर्नुपर्ने उहाँको जोड थियो ।
नगर उपप्रमुख रम्भा कुंवरले आधुनिकताको कारण पूराना संस्कृति लोप हुन लागेकोले यसको संरक्षणका लागि स्थानीय पाठ्यक्रम कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । बालबालिकालाई सानै देखि असल संस्कृति र सीप सिकाउन जरुरी रहेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले अहिलेको शिक्षा जागिर खाने र विदेश जाने शिक्षामा सीमित रहेकोले व्यवहारिक र व्यवसायिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउँदै स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै पाठ्यक्रम निर्माण गरिने बताउनुभयो ।
रामग्राम नगरपालिकाले हाम्रो रामग्राम नामक स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको र सरोकारवालाको सुझाव समेटेर अन्तिम रुप दिने तयारी भएको नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले बताउनुभयो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत पुरुषोत्तम घिमिरेले सहजीकरण गर्नुभएको थियो भने जनप्रतिनिधि, नगर शिक्षा समितिका पदाधिकारी, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको शिक्षा शाखा अधिकृत सुन्दर खनालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस