२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापनापछि सेवाग्राहीलाई सहज

२०७८ फागुन २, सोमबार प्रकाशित ( साल अघि) १३९२ पाठक संख्या

मोहन पौडेल
परासी, २ फागुन – सवारी साधनको कर,सवारी धनी प्रमाणपत्र नवीकरण लगायतका सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएपछि यहाँका सेवाग्राहीलाई सहज भएको हो ।
यसअघि यातायात सम्बन्धि सेवा लिन बुटवल, भैरहवा जानुपर्ने र घण्टौँ लाईनमा बस्नुपर्ने समस्या थियो। जिल्लामै सेवा कार्यालय स्थापना भएपछि राहत महशुस भएको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्र्तगत यातायात व्यवस्था सेवा कार्यालय परासीमा स्थापना भएपछि यस क्षेत्रका सेवाग्राहीले सहजै सेवा पाउन थालेका हुन् ।
लुम्बिनी प्रदेशकी श्रम रोजगार तथा यातायात मन्त्री पुरमति ढेगा मगरले स्थानीयवासीको माग अनुसार कार्यालय स्थापना गरिएको बताउनुभयो । सङ्घीयताको मर्म अनुसार प्रदेश सरकारले नागरिकलाई घरदैलो नजिकबाट सेवाप्रवाह गर्न यो कार्यालयको स्थापना गरेको बताउँदै उहाँले प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।
रामग्राम–४ स्थित रामग्राम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बैरिहवाको भवनमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरी सेवाप्रवाह शुरु गरिएको मन्त्रालयका सचिव दीपकराज नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालयबाट अहिले वार्षिक सवारी कर, सवारी साधन जाँचपास, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजतपत्र नवीकरण लगायतका सेवा प्रवाह गरिने छ। “जग्गाको प्रबन्ध भएमा केही समयपछि चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको कामसमेत सुरु गरिन्छ, त्यसका लागि तीन महीना भित्र जग्गाको लागि सहयोग गर्नुस्” स्थानीयसँग उहाँले बताउनुभयो ।
सचिव नेपालले सेवाग्राहीलाई झण्झट नहुने गरी सहज र सुलभ रुपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो । उहाँका अनुसार कार्यालयमा प्रमुख सहित सात जनाको दरबन्दी कायम गरिएको छ । लामो समयदेखि जिल्लावासीले यातायात कार्यालय स्थपना गर्न माग गर्दै आएका थिए ।
प्रदेशसभा सदस्य बैजनाथ जयसवालले छिटो जग्गाको व्यवस्थापन गरी कार्यालयको आफ्नै भवन बनाउनुपर्ने र यातायात कार्यालयबाट प्रवाह हुनुपर्ने सबै प्रकारका सेवाहरु सुचारु हुनुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२०%२%१%

प्रतिक्रिया दिनुहोस