२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

उच्च ध्वनीबाट श्रमिकमा पर्ने असर तथा जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण परासीमा शुरु

२०७८ माघ २८, शुक्रबार प्रकाशित ( साल अघि) १२२९ पाठक संख्या

मोहन पौडेल
परासी, २८ माघ । धातु उद्योगमा कार्यरत श्रमिकहरुको लागि उच्च ध्वनीबाट पर्ने असर तथा जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम आजदेखि पश्चिम नवलपरासीको परासीमा शुरु भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ललितपुरको आयोजना र नवलपरासी उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले उद्योग कलकारखानाले श्रमिकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । धातु लगायत अन्य उद्योगमा कार्यरत श्रमिकहरुले उच्च ध्वनी तथा अन्य शारिरीक जोखिम मोलेर काम गर्ने गरेको भन्दै प्रजिअ मिश्रले त्यस्ता उद्योगका व्यवस्थापन पक्षले जोखिमको व्यवस्थापन र प्रविधिमैत्री वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उद्योगमा कार्यरत मानवीय श्रमको सुरक्षा महत्वपूर्ण कुरा भएकोले यस प्रशिक्षणले जोखिमको असर न्यूनीकरणमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले पश्चिम नवलपरासी जिल्ला औद्योगिक हवको रुपमा विकसित हुँदै गएको भन्दै भूमही परासी सडक खण्डलाई औद्योगिक मार्ग र महशेपुर, परासी हुँदै सुनवल सडक क्षेत्रलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।
अध्यक्ष भण्डारीले औद्योगिक वातावरण बनाउन सवै पक्ष लागिरहेको बताउँदै औद्योगिक क्षेत्र निर्धारण हुन सके उद्योगका धेरै समस्या समाधान हुने बताउनुभयो । कार्यस्थलमा हुन सक्ने खतरा तथा जोखिमको पहिचान, असर र न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण केन्द्रीत हुने व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका शाखा अधिकृत सतिश कुमार उपाध्यायले जानकारी दिनुभयो । सुरक्षित, मर्यादित र निर्धक्क वातावरणमा काम गर्ने वातावरणको सिर्जना गर्नु प्रशिक्षणको मुख्य उद्दृेश्य रहेको उहाँले बताउनुभयो ।
दुई दिन सम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख गिरीराज ज्ञवालीसहित देवदह मेडिकल कलेजका नाक, कान, घाँटी रोग विशेषज्ञ, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रशिक्षकहरुले कार्यस्थलमा खतरा तथा जोखिमको पहिचान ध्वनीको प्रकार, श्रम ऐनमा जोखिम र ध्वनी सम्बन्धि व्यवस्था लगायत विभिन्न आठवटा विषयमा प्रशिक्षण गरिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक उदयकुमार महत्तोले जानकारी दिनुभयो । कार्यक्रममा पश्चिम नवलपरासीका विभिन्न उद्योगमा कार्यरत श्रमिकहरुको सहभागिता रहेको नवलपरासी उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस