२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

नारायणी पारी सुस्तामा निःशुल्क स्वास्थ्य शिविर, २३५ सुस्तावासी लाभान्वित

२०८१ जेष्ठ २६, शनिबार प्रकाशित ( महिना अघि) १८६ पाठक संख्या

मोहन पौडेल
परासी,२६ जेठ । भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको नारायणी पारी सुस्तामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २३५ सुस्तावासी लाभान्वित भएका छन् । जलवायु परिवर्तनका कारण भएका रोगको पहिचान र रोकथामका लागि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्तागाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीद्धारा सुस्ता गाउँपालिकामा सञ्चालित जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको आयोजनामा सुस्तामा शिविर सञ्चालन गरिएको थियो । करिब दुई सय जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएकोमा ९७ जना महिला र १३८ जना पुरुष गरि २३५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको परियोजनाका कार्यक्रम संयोजक अनुप खड्काले जानकारी दिनुभयो ।
गाईनो तथा जनरल विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा स्वास्थ्य जाँच गरिएका सेवाग्राहीलाई निःशुल्क औषधी पनि वितरण गरिएको छ । स्वास्थ्य शिविरको उद्घाटन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले स्वास्थ्यको पहुँचबाट टाढा रहेका सुस्तावासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन शिविर महत्वपूर्ण हुने बताउनुभएको थियो । हाल झोलुंगे पुल बनिसकेकाले सहज भएपनि यसअघि निकै चुनौतीपूर्ण यात्रा गरेर नेपालका स्वास्थ्य संस्था वा भारतका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यताका कारण सुस्तावासी सहज रुपमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनुपरेको उहाँले बताउनुभयो ।

Su2

सोही अवसरमा जलवायु परिवर्तनका असर सम्बन्धी सडक नाटक पनि प्रदर्शन गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी ठाडिघाट उपशाखाका सभापति दिनेश यादवको अध्यक्षतामा भएको उक्त शिविरमा सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव, रेडक्रसका लुम्बिनी प्रदेश कोषाध्यक्ष हैदर अलि मोमिन, जिल्ला कार्यसमिति सदस्य अर्जुन बहादुर क्षेत्री लगायलते शिविरको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
जलवायु परिवर्तनका कारण हुने विपद्हरुमा स्वास्थ्य प्रतिकार्यका लागि तयार रहन स्थानीय स्तरमा क्षमता विकास गर्ने तथा जलवायु परिवर्तनले हुन सक्ने रोगहरु रोकथाम, न्यूनीकरणका उपायहरु लगायतका विषयमा समुदाय स्तरमा सचेतना बढाउने उद्देश्यले सुस्ता गाउँपालिकामा उक्त परियोजना सञ्चालनमा रहेको रेडक्रसले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस