२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

एमाले पश्चिम नवलपरासीको आठौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा,सहमतिबाटै नेतृत्व छान्ने प्रयास

२०७८ पौष २१, बुधबार प्रकाशित ( साल अघि) ११२५ पाठक संख्या

 

मोहन पौडेल
परासी, २१ पुस । नेकपा एमाले पश्चिम नवलपरासीको आठौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस २३ गते बर्दघाट स्थित दाउन्ने पार्टी प्यालेसमा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उक्त पार्टीले जनाएको छ ।

नेकपा एमाले जिल्ला अधिवेशनका लागि गठित प्रचारप्रसार उपसमितिले आज बर्दघाटमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीका विषयमा जानकारी गराएको हो । जिल्ला अधिवेशनले ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्दैछ । निर्वाचित जिल्ला कमिटीले थप दश प्रतिशत मनोनित गर्ने एमालेको विद्यानमा उल्लेख छ ।

एमाले पश्चिम नवलपरासीका उपसचिव एवं प्रचारप्रसार संयोजक राजन कुमार आचार्यका अनुसार जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना र दुई उपसचिव गरी पाँच जना पदाधिकारीमा एक महिला निर्वाचित हुने र जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने प्रावधान अनुसार ३५ जना महिला जिल्ला कमिटीमा निर्वाचित हुनेछन् ।

एमालेको जिल्ला कमिटीमा विभिन्न कलस्टरबाट ४९ जना समावेशीका आधारमा निर्वाचित हुनेछन् भने ५१ जना खुल्लाबाट निर्वाचित हुनेछन् । खुल्ला ५१ मध्ये १४ प्रतिशत ४० वर्ष भन्दा कम उमेरका युवाका लागि सुनिश्चित गरिएको छ । जिल्ला अधिवेशनमा जिल्ला भरीबाट ५६२ जना प्रतिनिधि छनौट भएको प्रचारप्रसार संयोजक आचार्यले जानकारी दिनुभयो ।

एमालेले जिल्लाका ७४ वडाबाट भुगोलको आधारमा ४६५ जना, आयोजक कमिटीबाट ७५ जना र सल्लाहकारबाट १५ जना प्रतिनिधि छनौट गरेको जनाएको छ । उक्त पार्टीका अनुसार सुनवल नगरपालिकाबाट १२३, रामग्राम नगरपालिकाबाट ५८ जना, बर्दघाट नगरपालिकाबाट १५६ जना, सरावल गाउँपालिकाबाट ५४ जना, सुस्ता गाउँपालिकाबाट ३५ जना, पाल्हीनन्दन गाउँपालिकाबाट ११ जना र प्रतापपुर गाउँपालिकाबाट २८ जना र पदेन प्रतिनिधिको रुपमा सातै पालिकाका पार्टी अध्यक्ष गरी ५६२ जना प्रनिनिधि छनौट भएको एमालेले जनाएको छ । जिल्ला कमिटीले थप ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने प्रावधान विद्यानमा रहेको छ ।

जिल्ला अधिवेशन तयारीका लागि पार्टीका जिल्ला उपाध्यक्ष डोलराज भण्डारीको संयोजकत्वमा ५५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई तीव्रता दिएको पार्टीका जिल्ला उपाध्यक्ष एवं अधिवेशन मूल व्वस्थापन समितिका संयोजक भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयारी उपसमिति, आर्थिक तथा खाद्य व्यवस्थापन उपसमिति, सांस्कृतिक उपसमिति, प्रचारप्रसार उपसमिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, स्वास्थ्य व्यवस्थापन उपसमिति, स्वयमसेवक परिचालन उपसमिति, अतिथि सत्कार उपसमिति, मन्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

अधिवक्ता चुरा बहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । पुस २३ गते देशभर एकैसाथ हुन लागेको एमालेको जिल्ला अधिवेशनको केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । जिल्ला अधिवेशन नजिकीदैँ गर्दा नेतृत्वका आकांक्षीहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । एमालेको जिल्ला अध्यक्षका लागि प्रदेश कमिटी सचिवालय सदस्य दीपेन्द्र कुमार अधिकारी र वर्तमान जिल्ला सचिव थानप्रसाद गैरेले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यद्यपी सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भईरहेको बताईएको छ । सहमति हुन नसकेमात्र निर्वाचन गराउने पक्षमा एमाले नेतृत्व रहेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%१%

प्रतिक्रिया दिनुहोस