२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बुद्धले गृह त्याग गरेको सम्झनामा अनोमाघाटमा महाभिनिष्क्रमण दिवस मनाईयो

२०७८ श्रावण ९, शनिबार प्रकाशित ( साल अघि) १०७० पाठक संख्या

मोहन पौडेल
परासी, ९ साउन । पौराणिक बुद्धस्थल अनोमाघाटमा महाभिनिष्क्रमण उत्सव मनाईएको छ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिका लागि गृह त्याग गरेको अर्थात महाभिनिष्क्रमण गरेको ऐतिहासिक घटनाको सम्झनामा बुद्धत्व प्राप्तिको प्रस्थान विन्दु अनोमाघाटमा असार शुक्ल पूर्णिमाको अवसर पारी आज उत्सव मनाईएको हो ।
उक्त अवसरमा ठाडीघाटलाई अनोमाघाट नामाकरण गरी होर्डिङ् बोर्ड पनि स्थापना गरिएको थियो । गौतम बुद्धले गृह त्याग गरेको ऐतिहासिक घटनालाई महाभिनिष्क्रमण भनिन्छ ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका—५ मा अवस्थित अनोमाघाट(परिचित नाम ठाडिघाट)लाई प्रवद्र्धन गर्न र यहाँको पौराणिक महत्वलाई उजागर गर्ने उद्देश्यले आज सुस्ता गाउँपालिकाको सहयोगमा पिस क्लब ईन्टरनेशनल नवलपरासीले महाभिनिष्क्रमण उत्सव मनाएको क्लबका अध्यक्ष शम्भु उपाध्यायले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
नवलपरासी जिल्लामा अनोमाघाट लगायत पहिचान हुन नसकेका बुद्धस्थलहरु थुप्रै रहेकोले सरकारले विशेष योजना बनाएर बुद्धस्थलहरुको पहिचान, खोज अनुसन्धानमा ध्यान दिनुपर्ने पिस क्लव ईन्टरनेशनलका अध्यक्ष उपाध्याय जोड दिनुुहुन्छ । यस्ता स्थलहरुको खोजी गरी विकास गर्न सके आन्तरिक तथा विदेशी पर्यटक वृद्धि हुने र स्थानीयवासीको आर्थिक जीवनस्तर तथा रोजगारी सिर्जनामा ठूलो टेवा पुग्ने उहाँको भनाई छ ।
कार्यत्रममा कार्यपत्र प्रस्तुत गर्दै क्लबका महासचिव बेचु गौडेले नेपालको बोधगयाको रुपमा विकास गर्न सकिने यो स्थलको खोज, अनुसन्धान, उत्खनन् नहुँदा ओझेलमा पर्देै आएको बताउनुभयो ।
नारायणी (प्राचीन अनोमा) नदीको तटमा रहेको यो स्थल गौतमबुद्ध भिक्षु बनेको स्थल हो । कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका राजकुमार सिद्धार्थ गौतमले यसै स्थलमा पुगेर केश मुण्डन गरी गेरुवस्त्र धारण गरी बुद्धत्व प्राप्तिका लागि बोधगया प्रस्थान गरेकोले यस स्थलको ठूलो महत्व रहेको गौडले बताउनुभयो ।
यसका लागि गाउँपालिकाले अनोमाघाट क्षेत्र विकास समिति गठन गरी स्थानीय पाठ्यक्रममा समावेश गरेर अघि बढ्नुपर्ने र तीनै तहका सरकारको चासो हुनुपर्ने उहाँले बताउनुभयो ।
सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले धार्मिक एवं पुरातात्विक क्षेत्र अनोमाघाटको ऐतिहासिक महत्व उजागर गर्दै यहाँको समग्र विकासका लागि गाउँपालिकाले प्राथमिकता दिदैँ आएको बताउनुभयो । यस क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन लुम्बिनी प्रदेश सरकारले बुद्धपार्क निर्माणका लागि यस वर्ष रु तीस लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
यहाँको बृहत्तर विकासका लागि लुम्बिनी विकास कोष र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसन संस्थासँग सम्बन्ध स्थापित गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।कार्यक्रममा पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, सुस्ता गाउँपालिका २ का वडाध्यक्ष एवं प्रवक्ता कृष्णलाल मुखिया, नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन पौडेल लगायतले अनोमाघाटको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो ।
क्लबका सदस्य सञ्जय शर्माको सञ्चालन र उपाध्यक्ष अर्जुन क्षेत्रीको स्वागत मनतव्य रहेको उक्त कार्यक्रममा क्लबका पदाधिकारी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस