२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

स्वास्थ्य मापदण्ड पालनामा लापरवाही हुन थालेपछि प्रजिअ मिश्र छड्केमा, अटेरी गर्नेलाई जरिवाना गरिने

२०७८ अषाढ २१, सोमबार प्रकाशित ( साल अघि) १०६४ पाठक संख्या

मोहन पौडेल
परासी, २१ असार । निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्दै छड्के अनुगमन गर्नुभएको छ ।
सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि र उद्योग वाणिज्य संघका पदाधिकारीसहित मिश्रको नेतृत्वमा आज परासी बजारमा छड्के गरिएको हो । निषेधाज्ञा खुकुलो बनाएपछि मास्क तथा सेनिटाईजरको प्रयोग र भौतिक दुरी कायममा लापरवाही भएको गुनासो बढेपछि प्रजिअ मिश्र आफै अगुनमनमा निस्कनुभएको थियो ।
त्यसक्रममा परासी बजारका पसल व्यवसाय, सवारी साधन, होटल,सरकारी कार्यालय लगायतमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका लागि सचेत गराईएको थियो । आज सचेत गराईएको र भोलीदेखि पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे जरिवाना गरिने उहाँले बताउनुभयो । निषेधाज्ञा खुकुलो भएपनि कोरोना महामारी नघटेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्नुपरेको उहाँको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी साँझ ४ बजेसम्म पसल व्यवसाय सञ्चालन गर्न दिएकोमा अधिकांशले स्वास्थ्य मापदण्ड पालना गरेको नदेखिएको सीडीओ मिश्रले बताउनुभयो । उहाँले आफै पसलका सञ्चालक तथा ग्राहकलाई मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, सेनिटाईजरको प्रयोग गर्न, पसलको सटरमा डोरी लगाउन, फुटपाथमा पसल व्यवसाय सञ्चालन नगर्न आग्रह गर्नुभएको थियो ।
उद्योगी व्यवसायीलाई स्वास्थ्य मापदण्डको पालना गरी पसल व्यवसाय सञ्चालन गर्न सचेत गराईएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सुरक्षका मापदण्ड अनिवार्य पालना गरी आर्थिक चलायमान गर्न सवै उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
उक्त अवसरमा मास्क नलगाउने सर्वसाधारणलाई मास्क पनि वितरण गरिएको थियो । सो अवसरमा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन भए नभएको जाँच गरिएको थियो भने मालपोत कार्यालयमा भौतिक दुरी कायम गरी सेवा लिन सेवाग्राहीलाई आग्रह गरिएको थियो । मालपोतमा अनावश्यक भीड बढेकोले लेखापढी व्यवसायीलाई प्रवेश निषेध गर्न र सेवा लिने बाहेक अन्य व्यक्तिलाई प्रवेश गर्न नदिन भोली देखि प्रहरी परिचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताउनुभयो ।
अभियानको क्रममा उद्योग वाणिज्य संघको तर्फबाट पाँच सय मास्क उपलब्ध गराईएको संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो । उक्त अवसरमा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझि, प्रहरी उपरीक्षक मनोज यादव, शसस्त्र प्रहरी तथा ट्राफिक प्रहरीका प्रतिनिधि, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी तथा पदाधिकारीहरु, पत्रकार लगायतको पनि सहभागिता उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस