२०८२ अषाढ १७, मंगलबार
24 खबर अपडेट

रामग्रामको देवगावमा अवस्थित प्राचीन पोखरी संरक्षणमा वडा अध्यक्षको चासो

२०८२ बैशाख २२, सोमबार प्रकाशित ( महिना अघि) २८७ पाठक संख्या

मोहन पौडेल
परासी, २२ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१७ देवगावमा अवस्थित प्राचीन पोखरीको संरक्षणमा वडा कार्यालयले चासो देखाएको छ । गाउँको उत्तर पश्चिममा रहेको उक्त पोखरी लामो समयदेखि संरक्षणको पर्खाइमा थियो ।
करिब ५ विघा क्षेत्रफलमा फैलिएको उक्त पोखरी पछिल्लो समय अतिक्रमणमा परी खुम्चिन थालेपछि वडाको सक्रियतामा संरक्षण शुरु गरिएको रामग्राम–१७ का वडा अध्यक्ष कन्हैया मौर्यले दैनिक ट्वान्टीफोर खबर डटकमलाई जानकारी दिनुभयो ।
स्थानीयले उक्त पोखरीलाई सिँचाइसुविधाका लागि प्रयोग गर्दै आएका छन् भने छठपर्व लगायतमा धार्मिक कार्यहरु पनि हुँदै आएको छ । नगरपालिकाले माछापालनका लागि समेत उक्त पोखरीलाई ठेक्का दिँदै आएको छ । ठूलो क्षेत्रफल ओगटेको पोखरी अहिले अतिक्रमणमा परेको छ ।
पोखरीको सौन्दर्यीकरण गरी पार्क निर्माण गर्न सकिने सम्भावना रहेकोले गतवर्ष देखि नै आफूले पोखरी संरक्षणको कार्यमा चासो लिएको वडा अध्यक्ष मौर्यले बताउनुभयो । “पोखरीले सिँचाइ सुविधाको साथै पशुपंक्षीले आहाल खेल्न पाउने,जमिन मुनिको पानी भरण हुने र पर्यावरण संरक्षणमा पनि टेवा पुग्छ,पर्यटकीय पूर्वाधार बनाएर पर्यटक आकर्षण गर्न पनि सकिन्छ”, उहाँले भन्नुभयो ।
वडा अध्यक्ष मौर्यका अनुसार गत वर्षको बजेटबाट पोखरीको डिलमा करिब ९० मिटर ढलान गरी छठघाटलाई व्यवस्थित गरिएको छ । क्रमशः पोखरीको चारैतिर ढलान गरी सौन्दर्यीकरण गर्ने योजना रहेको अध्यक्ष मौर्यले बताउनुभयो । “वडाको बजेटले मात्र सम्भव छैन् त्यसैले डिपिआर बनाएर सो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बनाउन प्रदेश र संघीय सरकारसँग पनि पहल गरिरहेको छु”,उहाँले भन्नुभयो ।

D2

पोखरी अवलोकनमा पुग्नु भएका नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवारले पूराना पोखरीहरुको विनाशले पानीको अभावको समस्या तथा जलचरहरु घट्दै गइरहेको समयमा वडा कार्यालयले यस पोखरी संरक्षणको प्रयास गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । पर्यटक आकर्षणका लागि मात्र नभइ भूमिगत जल पुर्नसञ्चितिकरण र सिँचाइका लागि पानीको अभाव टार्न पनि पोखरी संरक्षण आवश्यक रहेको उहाँको तर्क थियो ।
पाल्ही बहुमुखी क्याम्पसका पूर्व प्रमुख एवं रामग्राम विकास कोषका सदस्य कैलाश ठाकुरले जलाशय संरक्षणको कार्यमा वडा कार्यालयको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले संविधानले पनि वडा कार्यालयलाई स्थानीय ऐतिहासिक,पुरातात्विक सम्पदा, पोखरी,धार्मिक क्षेत्र लगायतको संरक्षण गर्ने अधिकार दिएकोले प्राथमिकताका यस्ता सम्पदाको संरक्षण तथा विकासका लागि काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

D3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस