२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्रामको बरारीमा महामारी फैलिएको परिकल्पना गर्दै नियन्त्रणको कृत्रिम अभ्यास गरिने

२०८० श्रावण १२, शुक्रबार प्रकाशित ( साल अघि) ८७९ पाठक संख्या

मोहन पौडेल
परासी, १२ साउन । महामारी नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन पश्चिम नवलपरासीमा पहिलो पटक महामारी रोग नियन्त्रणका लागि कृत्रिम अभ्यास सञ्चालन गरिने भएको छ । यही साउन १६ गते रामग्राम नगरपालिका वडा नं. १७ को बरारी गाउँमा महामारी फैलिएमा आपतकालीन रुपमा गरिने नियन्त्रणको प्रयासलाई कृत्रिम अभ्यासको रुपमा प्रदर्शन गर्न लागिएको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी र रामग्राम नगरपालिकाको संयुक्त आयोजनामा हुने कृत्रिम अभ्यास डेंगु रोगको महामारी फैलिएको घटनामा आधारित हुने छ । बरारी गाउँमा डेंगु रोग महामारीको रुपमा फैलिएको घटना परिकल्पना गरि त्यसको नियन्त्रणका लागि सरोकारवालाहरुको सहभागितामा स्वास्थ्य शिविर, जनचेतनासहितको नाटकिय अभ्यास गरिने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका स्वास्थ्य अधिकृत अनुप खड्काले दैनिक24 खबरलाई जानकारी दिनुभयो । नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको अध्यक्षतामा आज सम्पन्न सरोकारवालाहरुसँगको बैठकमा उक्त जानकारी दिईएको हो ।
समुदायमा महामारी रोग फैलिँदा सरोकारवाला निकायले नियन्त्रणका लागि खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन नाटकिय अभ्यास गर्न लागिएको उहाँले बताउनुभयो । यस किसिमको पूर्व अभ्यासले समुदायस्तरमा कुनै पनि रोगको महामारी फैलिन गएमा आपतकालीन रोकथामका सरोकारवाला निकायले कत्तिको गम्भीर भएर काम गर्छन् भन्ने परीक्षण पनि हुने उहाँको भनाई छ ।
समुदायमा महामारी आईहालेमा नगरपालिका स्तरबाट हुने शिघ्र निर्णय, जनशक्ती तथा आवश्यक सामग्री व्यवस्थापन, समन्वय, सहकार्य स्थलगत अवलोकन , रेडक्रस, प्रहरी, सेना, स्वास्थ्यकर्मीको सक्रियता लगायतका विषय पनि यस अभ्यासले स्पष्ट पार्ने स्वास्थ्य अधिकृत खड्काले बताउनुभयो ।
कृत्रिम अभ्यासमा बरारीका ५० घरधुरीका स्थानीयवासीलाई डेंगु संक्रमण भएको परिकल्पना गरि स्थानीय स्वास्थ्य चौकी, रामग्राम नगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी, नेपाली सेना,जनप्रतिनिधिसहितको सहभागितामा कृत्रिम घटना अभ्यास गर्न लागिएको रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । गत वर्ष रामग्रामकै पम्फापुरमा अचानक झाडापखालाको महामारी फैलिई १२० भन्दा बढी बिरामी भएको घटनाले पाठ सिकाएकोले पनि आगामी दिनमा यस्तै किसिमका महामारी समुदायमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको रोकथाम दु्रत रुपमा गर्न पूर्वतयारीको लागि पनि कृत्रिम अभ्यास गर्न लागिएको उहाँले बताउनुभयो । यस किसिमको अभ्यासले महामारी आईहालेमा सरोकारवालासँग रहेको तयारी कस्तो छ भन्ने बुझ्न पनि सहज हुने छ । हाल देशका विभिन्न जिल्लामा डेंगुको प्रकोप बढीरहेकाले यस क्षेत्रमा पनि डेंगुको प्रकोप फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कृत्रिम अभ्यास पनि डेंगु रोगलाई केन्द्रीत गरेर गर्न लागिएको उहाँको भनाई छ ।
रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले कृत्रिम अभ्यासको क्रममा सरोकारवाला निकायले आआफ्नो भूमिका र आवश्यक सामग्रीको पूर्व व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । सबै पक्षको सहकार्य र समन्वयमा मात्र उक्त कार्य सफल हुने भन्दै नगरपालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीले यस अभ्यासले महामारी फैलिँदा आपतकालीन रुपमा रोकथाम गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । महामारी आईसकेपछि भन्दा पनि महामारी आउन नदिन ध्यान दिनुपर्ने बताउँदै उहाँले महामारी आईहालेमा त्यसको नियन्त्रण गर्न सबै सरोकारवालाले पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
रामग्राम नगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक धनीराम यादवले कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो । रामग्राम नगरपालिकाले बनाएको आपतकालीन स्वास्थ्य पूर्व तयारी तथा प्रतिकार्य योजनाको मापन गर्न र विपदसँग प्रतिकार्य गर्ने जनशक्ति तथा निकायको स्तरोन्नती गर्न पनि यस कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो । वडा नं. १७ का वडा अध्यक्ष कन्हैया मौर्यले आफ्नो वडामा हुने कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोग गर्ने बताउनुभयो । बरारी र आसपासका गाउँ सदरमुकाम भन्दा टाढा र स्वास्थ्यको पहुँचबाट पनि टाढा रहेकोले कृत्रिम अभ्यासको लागि उक्त स्थान छनौट गरिएको नेपाल रेडक्रस सोसाईटीका जिल्ला सदस्य अर्जुन बहादुर क्षेत्रीले बताउनुभयो ।

उक्त कार्यक्रमले डेंगु रोगको विषयमा स्थानीयमा जनचेतना बढ्नुको साथै स्वास्थ्यको पहुँच नभएको ठाउँमा महामारी फैलिँदा नियन्त्रणका लागि आउने चुनौती सामना गर्न सरोकार निकाय सक्षम हुने विश्वास गरिएको पनि उहाँले बताउनुभयो ।स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले अन्य जिल्लामा डेंगुका बिरामी बढिरहेको भएपनि नवलपरासीमा भने हालसम्म शुन्यको अवस्थामा रहेको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस