२०८२ चैत्र ३, मंगलबार
24 खबर अपडेट

महिला नेतृत्व आधारित जलवायु–स्मार्ट स्वास्थ्य समाधान सम्बन्धी क्षमता अभिवृद्धि तालिम परासीमा सुरु

२०८२ चैत्र ३, मंगलबार प्रकाशित ( घण्टा अघि) ७८ पाठक संख्या

परासी, ३ चैत । जलवायु परिवर्तनको बढ्दो असरबीच समुदायको स्वास्थ्य सुरक्षामा महिलाको भूमिका सुदृढ गर्ने उद्देश्यसहित पश्चिम नवलपरासीको परासीमा दुई दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। महिला जलवायु स्वास्थ्य समूहलाई लक्षित गर्दै सञ्चालन गरिएको यस तालिमले स्थानीय तहमा जलवायु–स्मार्ट स्वास्थ्य समाधानको अभ्यासलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीद्वारा सञ्चालित स्थानीय नवप्रवर्तन कोष परियोजनाअन्तर्गत आयोजित तालिममा जलवायु परिवर्तन र त्यसबाट उत्पन्न स्वास्थ्य जोखिमबारे गहन छलफल गरिने परियोजना संयोजक गोकर्ण श्रेष्ठले दैनिक ट्वान्टिफोर खबर डटकमलाई जानकारी दिनुभयो । विशेषगरी बाढीको समयमा सुरक्षित पानीको प्रयोग, शुद्धिकरण विधि, उचित भण्डारण तथा सरसफाइ अभियान सञ्चालनका व्यवहारिक उपायहरूमा सहभागीलाई प्रशिक्षण दिइँदैछ।
मंगलबार तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले महिला नेतृत्वलाई सशक्त बनाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउन यस्तो तालिम प्रभावकारी हुने बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले यस तालिममार्फत महिलालाई समुदायस्तरमा सरसफाइ प्रवद्र्धन, सुरक्षित पानीको पहुँच विस्तार तथा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पु¥याउन सक्षम बनाउने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।
बुधबारसम्म सञ्चालन हुने तालिममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी,स्वास्थ्य निरीक्षक सुरज हरिजन र कृषि शाखा प्रमुख किरण गुप्ताले जलवायु परिवर्तनका असर, फोहोर व्यवस्थापन, करेसाबारी व्यवस्थापन तथा रेडक्रस अभियानबारे सहजीकरण गर्नुहुनेछ ।
सन् २०२५ नोभेम्बरदेखि शुरु भई सन् २०२६ को अप्रील महिनासम्म सञ्चालनमा रहने यो परियोजनाले रामग्राम नगरपालिका वडा नं. १२ र १४ तथा सरावल गाउँपालिका वडा नं. २ का तीन वटा टोललाई समेटेको छ। पहिलो चरणको तालिममा सरावल–२ र रामग्राम–१२ का ३० जना महिलाहरू सहभागी रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

R2

 

R3

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस