२०८२ चैत्र १, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका दुई महिला उद्यमी सम्मानित

२०८२ चैत्र १, आईतबार प्रकाशित ( घण्टा अघि) १३२ पाठक संख्या

मोहन पौडेल
परासी, १ चैत । पश्चिम नवलपरासीका दुई जना महिला उद्यमीलाई उत्कृष्ट उद्यमीका रूपमा सम्मान गरिएको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आइतबार परासीमा आयोजित अन्तरक्रिया तथा उद्यमी सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा उपभोक्ता हित संरक्षण मञ्चको सहआयोजनाा आयोजित कार्यक्रममा सम्मानित उद्यमीलाई सम्मानपत्र, दोसल्ला र नगद जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो।
सम्मानित हुनेमध्ये सुस्ता गाउँपालिका–२ की कल्पी कुमारी चौधरी र बर्दघाट नगरपालिका–७ की नोशन आचार्य रहनुभएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन पाण्डेले जानकारी दिनुभयो । कार्यालयको वार्षिक कार्यक्रम अन्र्तगत उद्यमी प्रोत्साहनका लागि सम्मान गरिएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख पाण्डेका अनुसार ६ जनाको आवेदन परेकोमा कार्यविधि बमोजिम उहाँहरु दुई जना छनौटमा पर्नुभएको हो ।
कल्पी कुमारी चौधरी सञ्चालक रहेको त्रिवेणी पटेर उद्योगले करिब एक दशकदेखि परम्परागत पटेरजन्य सामग्री उत्पादन गर्दै आएको छ। उद्योगमार्फत पटेरका मुढा, गुन्द्री, सुकुल, सुपो, टोपी, डोरमेट र झोला लगायतका सामग्री उत्पादन गरिँदै आएको छ। स्थानीय थारु महिलाहरूको सामूहिक सहभागितामा सञ्चालन भइरहेको यस उद्योगका उत्पादनहरू नेपालका काठमाडौँ, पोखरा लगायतका शहरमा बिक्री हुने गरेका छन् भने अष्ट्रेलिया लगायतका देशमा समेत निर्यात भई राम्रो माग रहेको बताइएको छ।
त्यस्तै बर्दघाट नगरपालिका–७ की नोशन आचार्य सञ्चालक रहेको मोडर्न पेपर व्याग एण्ड प्याकेजिङ उद्योग पनि उत्कृष्ट उद्यमीको रूपमा सम्मानित भएको छ। २०७९ सालदेखि सञ्चालनमा आएको यस उद्योगले पेपर व्याग, फाइल लगायत वातावरणमैत्री सामग्री उत्पादन गर्दै आएको छ। साथै स्थानीय गेडागुडी, खाद्यान्न तथा मसला प्रशोधन गरी प्याकेजिङ गर्ने कार्य पनि भइरहेको आचार्यले बताउनुभयो । यस उद्योगका उत्पादनहरू विशेषगरी पोखरा लगायतका शहर तथा विभिन्न अस्पतालहरूमा आपूर्ति हुँदै आएका छन्।
उद्यमीहरुलाई सम्मान गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्र्रमुख भगौती यादव(रुदल) लगयातले स्थानीय उद्यमशीलताको प्रवद्र्धन, वातावरणमैत्री उत्पादनको विस्तार र महिलाको आर्थिक सशक्तीकरणमा यस्ता उद्योगहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यत्रममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सचिव सरस्वती शर्मा, जिल्ला अध्यक्ष भोजराज बराकोटी, संस्थापक जिल्ला अध्यक्ष रामजी ज्ञवाली, नवलपरासी उद्येग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी लगायतले उपभोक्ता अधिकारका लागि सबै सचेत हुनुपर्नेमा जोड दिँदै सम्मानीत उद्यमीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस