२०८२ चैत्र १, आईतबार
24 खबर अपडेट

एमाले नवलपरासीकी नेतृ रिंगला यादव : विद्यार्थी आन्दोलनबाट संसदको ढोकासम्म,सक्रियता र निरन्तरताको कदर

२०८२ चैत्र १, आईतबार प्रकाशित ( घण्टा अघि) ९८ पाठक संख्या

मोहन पौडेल
परासी, १ चैत । पश्चिम नवलपरासीकी एमाले नेतृ रिंगला यादव प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिस हुनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उहाँलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।
एमालेले यसअघि निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा मधेसी कलस्टरबाट पहिलो नम्बरमा यादवको नाम थियो । मधेसी समुदायबाट संघर्ष गर्दै राजनीतिमा उदाएकी यादवलाई पार्टीले संगठनप्रतिको निरन्तर सक्रियता, बफादारिता र योगदानको मूल्यांकन गर्दै सिफारिस गरेको बताइएको छ।

यादव हाल एमाले नवलपरासी जिल्ला कमिटीमा दोस्रो कार्यकाल जिल्ला उपसचिवको जिम्मेवारीमा हुनुहुन्छ। उहाँले यसअघि तीन कार्यकाल जिल्ला सदस्यका रूपमा काम गर्नुभएको थियो।
उहाँ २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा तत्कालीन नवलपरासी क्षेत्र नं. ६ बाट उम्मेदवार बन्नुभएको थियो भने २०७९ सालमा पाल्हीनन्दन गाउँपालिकाको उपाध्यक्ष पदमा पनि उम्मेदवारी दिनुभएको थियो। २०७० मै संसदको यात्रा तय गर्ने उहाँको चाहना १२ वर्षपछि पूरा भएको छ ।
मधेस समुदायकी बुहारीका रूपमा सार्वजनिक जीवनमा सक्रिय हुन निकै चुनौती भए पनि यादवले समाजबाट आएका विभिन्न आलोचना र अपमानलाई सामना गर्दै निरन्तर राजनीतिमा सक्रिय रहनुभएको छ। दैनिक ट्वान्टिफोर खबर डटकमसँगको कुराकानीमा उहाँ भन्नुहुन्छ, “एमाले मधेस विरोधी पार्टी हो, मधेसीलाई ठाउँ दिँदैन भन्ने आरोप पनि सुनिन्थ्यो, तर मैले पार्टीप्रति विश्वास राखेँ, पार्टीले अवसर दिएको छ, अहिले यो स्थानमा सिफारिस हुनु मेरा लागि गौरवको विषय हो।”
संसदमा पुगेपछि मधेसका महिला तथा छोरीहरूले भोग्नुपरेका पीडा, सुशासन, राष्ट्रहित, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबी निवारणका मुद्दामा सशक्त आवाज उठाउँदै कानून निर्माण प्रक्रियामा सक्रिय हुने यादवको प्रतिबद्धता छ।
यादवले २०६२÷०६३ को जनअन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। २०६५ सालमा पाल्ही बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा एमालेको विद्यार्थी संंगठन अनेरास्ववियुमा आवद्ध भई स्ववियु निर्वाचनमा उपसभापति पदमा उम्मेदवार बनेर उहाँ औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो
निडर र जुझारु स्वभावकी यादव २०६७ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य हुँदै सोही वर्ष जनकपुरमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। त्यसपछि अनेमसंघको जिल्ला संयोजक हुँदै केन्द्रीय सदस्य बन्नुभयो। महिला युथ फोर्सको केन्द्रीय सदस्यको जिम्मेवारी पनि उहाँले सम्हाल्नुभएको थियो।
राजनीतिसँगै उहाँ सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। उहाँ रामग्राम महिला जेसीजको पूर्व अध्यक्ष, पाल्ही बहुमुखी क्याम्पसको आजीवन सदस्य तथा सञ्चालक समितिको पूर्व सदस्य हुनुहुन्छ। साथै नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य तथा रामग्राम बचत तथा ऋण सहकारी संस्थाको शेयर सदस्य समेत रहनुभएको छ।
समाजसेवा र राजनीतिसँगै उहाँ व्यवसायमा पनि संलग्न हुनुहुन्छ । उहाँले परासीमा नेपाल गार्मेन्ट उद्योग सञ्चालन गर्दै आउनुभएको छ। पारिवारिक रूपमा सासु, श्रीमान तथा परिवारका सदस्यबाट निरन्तर हौसला र साथ पाएको उहाँ बताउनुहुन्छ।
२०४२ सालमा रामग्राम नगरपालिका–१५ शुक्रौलीमा जन्मिनुभएकी यादवको विवाह २०६३ सालमा पाल्हीनन्दन गाउँपालिका–६ सनइ निवासी सचितानन्दन यादव(बब्लु)सँग भएको हो । हाल उहाँका १७ वर्षीय छोरी रितिका र ७ वर्षीय छोरा रिसबबाबु गरी दुई जना छोराछोरी रहेका छन् । उहाँ सासु, श्रीमान, दुई जना देवर देवरानीसँगै सगोल परिवारमै बस्दै आउनुभएको छ। उहाँले पवन मावि परासीबाट एसएलसी र पाल्ही क्याम्पसबाट कक्षा १२ सम्मको अध्ययन गर्नुभएको छ ।
अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष सुशान्त शर्मा घिमिरेका अनुसार यादव मधेसी समुदायबाट संघर्ष गर्दै उदाएकी निडर र साहसी महिला नेतृ हुनुहुन्छ । “संगठनप्रतिको उहाँको बफादारिता र सक्रियताको उच्च मूल्यांकन भएको छ,” उहाँले भन्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस