

परासी, २९ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासीले आफ्ना क्षेत्र नं. २ का उम्मेदवार नरेन्द्र कुमार गुप्ताविरुद्ध सुनियोजित दुष्प्रचार गरिएको आरोप लगाएको छ। पार्टीले आफ्ना उम्मेदवार विरुद्ध फेक आइडी तथा एआइको प्रयोग गरेर चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कडा आपत्ति जनाएको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला उपसभापति रबी पाण्डेले उम्मेदवारविरुद्ध फैलाइएका आरोपहरू निराधार र भ्रामक रहेको स्पष्ट पार्नुभयो। उहाँले रास्वपाले अघिल्लो निर्वाचनमा २१ सिट जितेर संसदमा भ्रष्टाचार र वेथितिविरुद्ध सशक्त आवाज उठाएको स्मरण गर्दै भन्नुभयो, “सदन सुत्ने ठाउँ होइन, जनताको आवाज बुलन्द गर्ने थलो हो भन्ने कुरा हामीले प्रमाणित गर्यौं,तर बहुमत नहुँदा सबै एजेन्डा लागू गर्न सकेनौं।”
यस क्षेत्रका लागि रामग्राम नगरपालिकाका पूर्व मेयर गुप्तालाई अनुभव र नेतृत्व क्षमताका आधारमा उम्मेदवार बनाइएको उहाँको भनाइ थियो। उम्मेदवार छनोट प्रक्रियामा ६ जनाबीच प्रतिस्पर्धा भए पनि सहमतिमै गुप्तालाई अघि सारिएको पाण्डेले जानकारी दिनुभयो। “टिकटका लागि कुनै रकम लेनदेन भएको छैन, जित सुनिश्चित हुने व्यक्तिलाई नै पार्टीले उम्मेदवार बनाएको हो,” उहाँले भन्नुभयो ।
गुप्ता मेयर हुँदा विकासको गति बढाएको दाबी गर्दै उहाँविरुद्ध ‘कुहिएको चामल वितरण’ जस्ता आरोप षड्यन्त्रपूर्ण रूपमा फैलाइएको पाण्डेले बताउनुभयो। “उहाँ यस प्रकरणमा संलग्न हुनुहुन्न, दोषी हुनुहुन्न भन्ने कुरा अदालतको फैसलामै उल्लेख छ,” उहाँले स्पष्ट पार्नुभयो।
पार्टीका जिल्ला सचिव अमर पाठकले पनि एआइ प्रविधिको दुरुपयोग गरी फेक न्यूज तयार पारिएको आरोप लगाउँदै यसलाई उम्मेदवारको चरित्र हत्या गर्ने नियोजित प्रयास भन्नुभएको छ । “हाम्रो पार्टी एकताबद्ध छ, टिकटको लागि पैसाको कुनै चलखेल भएको छैन,” उहाँले भन्नुभयो।
उम्मेदवारका प्रतिनिधि राकेश गुप्ताले रास्वपाको बढ्दो जनसमर्थन देखेर विपक्षीहरू आत्तिएको दाबी गर्दै दुष्प्रचारमा विश्वास नगर्न मतदातासँग आग्रह गर्नुभयो। निर्वाचन नजिकिँदै जाँदा प्रविधिको दुरुपयोगमार्फत फैलाइने भ्रम र दुष्प्रचारप्रति सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।