

मोहन पौडेल
परासी,२९ पुस। नवलपरासी उद्योग वाणिज्य संघले जिल्लामा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । संघले पश्चिम क्षेत्रको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्रका रूपमा विकसित हुँदै गएको नवलपरासीमा राजस्व संकलन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन उक्त कार्यालय अपरिहार्य रहेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो ।
संघका अध्यक्ष अग्रहरीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल मार्फत ध्यानाकर्षण पत्र पठाएको हो ।
नवलपरासी जिल्लामा ७० भन्दा बढी ठूला बहुराष्ट्रिय उद्योगहरु रहेको,थप स्थापना हुने क्रम जारी रहेको तथा वाषिर्क ८ अर्ब भन्दा बढी राजस्व संकलन भइ अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्दै आउँदा पनि जिल्लामा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातालाई असहज भइरहेको अध्यक्ष अग्रहरीले उल्लेख गर्नुभयो ।
संघले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ – ” नवलपरासी जिल्ला भौगोलिक, सामाजिक, आर्थिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र हो । यहाँ ठूला, मझौला, साना तथा बहुराष्ट्रिय स्तरका उद्योगहरू सञ्चालनमा रहेकाले राज्यलाई उल्लेख्य आर्थिक योगदान पुगेको छ ।”
उद्योग व्यवसाय विस्तार हुँदै गएको अवस्थामा करदातालाई सहज, छरितो र सरल सेवा उपलब्ध गराउन २०७५ सालमा स्थापना गरिएको करदाता सेवा कार्यालयले महत्वपूर्ण भूमिका खेलेको संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनुभयो ।
तर, मन्त्रिपरिषद् निर्णयअनुसार नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित करदाता सेवा कार्यालय हटाउने निर्णय गरिएकोप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त निर्णयले करदाता, उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने भन्दै संघले चिन्ता व्यक्त गरेको छ ।
ध्यानाकर्षण पत्रमा नवलपरासी जिल्ला भारतसँग जोडिएको प्रमुख भन्सार नाका, सुदृढ पूर्वाधार तथा व्यापारिक सम्भावना बोकेको क्षेत्र भएकाले यहाँ आन्तरिक राजस्व कार्यालय स्थापना गर्नु राज्यकै हितमा हुने उल्लेख गरिएको संघकी महासचिव तारा आचार्यले बताउनुभयो ।
झण्डै ५८ हजार करदाता रहेको र राजस्व संकलनमा निरन्तर वृद्धि भइरहेको अवस्थामा कार्यालय हटाइए राजस्व संकलनमा समेत नकारात्मक प्रभाव पर्ने संघका वाणिज्य उपाध्यक्ष राजेश गुप्तले बताउनुभयो ।
परासीमा यथाशीघ्र आन्तरिक राजस्व कार्यालय स्थापना गरी महेशपुर मूल भन्सारलाई कभर गर्ने गरी पूर्ण रूपमा सञ्चालन गर्न संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डेले सरकारसँग जोडदार माग गर्नुभयो । माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ ।
