२०८२ पौष २९, मंगलबार
24 खबर अपडेट

सरावल गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न,महत्वपूर्ण ऐन तथा ओएनएम प्रतिवेदन पारित

२०८२ पौष २९, मंगलबार प्रकाशित ( घण्टा अघि) ६५ पाठक संख्या

मोहन पौडेल
परासी, २९ पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशन सोमबार विभिन्न महत्वपूर्ण कानुनी, नीतिगत तथा संस्थागत निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ। अधिवेशनले पालिकाको प्रशासनिक, आर्थिक तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभाले पालिकाको मध्यावधि प्रगति समीक्षा, विभिन्न योजनाको संशोधन तथा ऐन–प्रतिवेदनसहित पाँच वटा प्रस्तावहरू छलफलसहित सर्वसम्मत पारित गरेको हो।
गाउँसभाले आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजन ऐन तथा आर्थिक ऐन संशोधन गर्दै चालु वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउने आधार तयार गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो।
सभामा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले विद्यमान आर्थिक ऐनका केही दफाहरू संघीय कानूनसँग बाझिएको र समयसापेक्ष नहुँदा कार्यान्वयनमा अन्यौलता सिर्जना भएको उल्लेख गर्दै ती दफाहरू संशोधन गर्न तथा १६ औँ गाउँसभाबाट पारित केही योजनाहरूको नाम र रकम संशोधन गर्न प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव गाउँसभाबाट सर्वसम्मत पारित भएको छ।
यसैगरी, गाउँपालिकाका प्रवक्ता सुरेशप्रसाद यादवले पेश गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२ पनि सर्वसम्मत रूपमा पारित गरिएको छ। विधेयक पारित भएसँगै गाउँपालिकामा आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता अझ मजबुत हुने अपेक्षा गरिएको प्रवक्ता यादवले बताउनुभयो।
गाउँपालिकाको कर्मचारी संरचना, सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित बनाउने उद्देश्यले तयार गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पनि गाउँसभाबाट पारित गरिएको छ। सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरीले पेश गर्नुभएको उक्त प्रतिवेदनले जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक र प्रभावकारी बनाउँदै स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
अधिवेशनमा चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो ६ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले यस अवधिमा गाउँपालिकाले कूल विनियोजित बजेटको २४ दशमलव ६८ प्रतिशत खर्च गरेको जानकारी दिनुभयो।
सभामा वडा नं. ७ का वडा अध्यक्ष हेयात खाँ धुनिया, सभा सदस्य गोरे राना, रञ्जना महत्तोलगायतले समसामयिक विषयमा आ–आफ्ना सुझावहरू व्यक्त गर्नुभएको थियो। जनप्रतिनिधिहरूले पारित भएका ऐन तथा प्रतिवेदनहरूको प्रभावकारी कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस