

मोहन पौडेल
परासी, २६ पुस । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध बहुक्षेत्रीय प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ। नेपालमा लैङ्गिक हिंसा रेस्पोन्सलाई संस्थागत गर्ने उद्देश्यसहित रामग्राम नगरपालिकामा विश्व बैंकको सहयोगमा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोना(आईजिबीभीआरएन) अन्र्तगत उक्त तालिम आयोजना गरिएको थियो ।
तालिमले स्थानीय तहमा लैङ्गिक तथा बालिकामैत्री उत्तरदायी संयन्त्र स्थापना र सुदृढीकरणमा सहयोग पुग्ने तथा लैंगिक हिंसा पीडितलाई समयमै, प्रभावकारी र समन्वित सेवा प्रदान गर्न सरोकारवालाको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको परियोजनाका विज्ञ अनुप खड्काले जानकारी दिनुभयो ।
“लैंगिक हिंसा सम्बन्धी बहुक्षेत्रीय सरोकारवालाहरुको बुझाईलाई सुदृढ पार्ने,पीडित केन्द्रित प्रतिकार्य सीप र स्थानीय स्तरमा लैंगिक हिंसा प्रतिकार्यमा सुधार ल्याउन तालिम फलदायी हुनेछ”,उहाँले भन्नुभयो ।
विहीबार र शुक्रबार सञ्चालित तालिममा नगर कार्यपालिका सदस्य, न्यायिक समितिका प्रतिनिधि, मेलमिलाप केन्द्र, महिला प्रहरी, निःशुल्क कानुनी सहायता प्रदायक, सशस्त्र प्रहरी, अस्पतालका ओएसिएमसी प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, जीबीभीमा कार्यरत गैरसरकारी संस्था, नगरपालिकाका शाखा प्रतिनिधि, पत्रकार तथा नगर प्रहरी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमकी अध्यक्ष एवं नगर उपप्रमुख सम्झना चौधरीले लैंगिक हिंसा न्यूनीकरणमा सबै सरोकारावालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । हिंसारहित समाज निर्माणमा लाग्न उहाँले आह्वान पनि गर्नुभ्यो ।
तालिमका आईजिबीभीआरएन परियोजनाबारे जानकारी गराउनुका साथै नेपालमा लैङ्गिक हिंसाको अवस्था, जीवनचक्र दृष्टिकोण, जीबीभीका कारण, प्रभाव र परिणामबारे विस्तृत छलफल गरिएको थियो। लैंगिक हिंसा (जीबीभी) केस व्यवस्थापन प्रक्रिया, पीडित केन्द्रित र उत्तरजीवी–केन्द्रित दृष्टिकोण, गोपनीयता, सुरक्षा, आत्मनिर्णय तथा गैर–भेदभावका सिद्धान्तहरू, साथै केसवर्करको भूमिका र जिम्मेवारीबारे व्यावहारिक अभ्यास र सिमुलेसनमार्फत प्रशिक्षण दिइएको थियो।
जीबीभी सेवामा पहुँचका अवरोध, संस्थागत प्रतिकार्य संयन्त्र, कानुनी सहायता, प्रमाण संकलन, रिफरल प्रणाली, डिजिटल हिंसा, साइबर सुरक्षा, तथा पुरुषत्व र अन्तरविभागीयताका विषयमा समेत छलफल गरिएको थियो।
दुई दिने तालिममा परियोजनाका विज्ञ खड्कासहित महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी अर्याल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन,अधिवक्ता श्रद्धासुमन आचार्य लगायतले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागि सूर्यप्रकाश कोहार, शोभादेवी थारु लगायतले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिँदै सिकेका सीप र ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।