२०८२ मंसिर ७, शनिबार
24 खबर अपडेट

धाञ्याचल मावि बडेरामा २२ विद्यालयको सहभागितामा आधारभूत तह फुटसल प्रतियोगिता सुरु

२०८२ मंसिर ७, शनिबार प्रकाशित ( घण्टा अघि) ७८ पाठक संख्या

मोहन पौडेल
परासी, ६ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरास्थित धान्याचल महायज्ञ माध्यमिक विद्यालयमा आधारभूत तह नगर स्तरीय छात्र कप सेभेन ए साइड फुटसल प्रतियोगिता शुरु भएको छ ।
सुनवल नगरपालिकाको सहयोगमा धाञ्याचल महायज्ञ माविको आयोजनामा शुरु भएको प्रतियोगिताको शुक्रबार नगर प्रमुख बिमला अर्यालले उद्घाटन गर्नुभएको थियो । नगर प्रमुख अर्यालले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, मानसिक तथा नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले युवालाई अनुशासन,सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना सिकाउन यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा सुनवल नगर अन्र्तगतका सामुदायिक तथा संस्थागत गरी २२ वटा विद्यालयको सहभागिता रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्य न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष न्यौपानेले विद्यालयले विगतदेखि नै अतिरिक्त क्रियाकलाप अन्र्तगत खेलकुद कार्यक्रमलाई प्राथमिकता दिँदै विद्यार्थीको शारीरिक मानसिक विकासमा योगदान गर्दै आएको बताउनुभयो ।
विद्यालय शिक्षक रामराज श्रेष्ठका अनुसार प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा आयोजक धाञ्याचल मावि,रमवापुर मावि,वाक्वाणी मावि, भगवति मावि र जनज्योति आधारभूत विद्यालयले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक धाञ्याचलले जनता आधारभूत विद्यालय हरकट्टालाई एकका विरुद्ध ३ गोल गर्दै विजयी शुरुवात गरेको हो भने दोस्रो खेलमा जगन्नाथ मावि भूमही र रमवापुर मावि सुनवलबीच गोलरहित बराबरी भएपछि पेनाल्टी सुट आउटमा रमवापुर माविले विजय शुरुवात गरेको हो ।
तेस्रो खेलमा दि स्पाइन् स्कूल सहभागि नभएपछि वाक्वाणी माविले दोस्रो चरणमा प्रवेश पाएको छ भने चौथो खेलमा मिलन बोर्डिङ्ग स्कुल सहभागि नहुँदा भगवती माविले दोस्रो चरणमा प्रवेश पाएको हो । पाँचौ खेलमा नवदुर्गा आधारभूत विद्यालयलाई शुन्यका विरुद्ध एक गोलको अन्तरले पराजित गर्दै जनज्योति आधारभूत विद्यालयले जित हासिल गरेको आयोजकले जनाएको छ ।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद रु पन्ध्र हजार, द्धितीय हुने टीमलाई नगद रु दश हजार र तृतीय हुने टीमलाई नगद रु पाँच हजारसहित मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिने विद्यालयका प्रधानाध्यापक सन्त कुमार यादवले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस