२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

संविधानको मार्गदर्शनअनुसार चुनौतीहरुको समाधान गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

२०८२ आश्विन १६, बिहिबार प्रकाशित ( हफ्ता अघि) ९८ पाठक संख्या

दाङ, १६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौतीहरूको समाधान गर्न सकिने बताउनुभएको छ ।

वडादशैं–२०८२ को अवसरमा बिहिवार शुभकामना व्यक्त गर्दै उहाँले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिनेमा जोड दिनुभएको हो ।
मुख्यमन्त्री आचार्यले सुशासन प्रवद्र्धन र भ्रष्टाचार अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । युवापुस्ताको सोचअनुसार कामलाई गतिशील बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले शक्तिस्वरूपा दुर्गा भवानीले सत्य, न्याय, सहकार्य र अग्रगमनको बाटोमा अघि बढ्ने प्रेरणा दिऊन् भन्ने कामना गर्नुभयो ।
उहाँले वडादशैंले नेपालीबीच आपसी भातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको कामनापनि गर्नुभयो ।
उहाँको भनाइमा नेपाली चाडपर्वहरू सबै जातजाति र धर्मावलम्बीहरूको साझा फूलवारीका रूपमा रहेका छन् । यी पर्वहरूले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर साझा पहिचानलाई सबल बनाउन मद्दत गरेका छन् ।‘हाम्रा कला–संस्कृति, रीतिथिति र परम्पराहरू नै हाम्रो अमूल्य सम्पदा हुन् ।

यिनको संरक्षण, प्रवद्र्धन र विकासमार्फत प्रदेशको समृद्धिको चाहना पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ छौं,’शुभकामना सन्देशमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस