२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

नवलपरासीमा चाडपर्व सुरक्षा योजना लागू, चार स्थानमा सहायता कक्ष सञ्चालन

२०८२ आश्विन ९, बिहिबार प्रकाशित ( हफ्ता अघि) १८८ पाठक संख्या

मोहन पौडेल
परासी, ९ असोज । दसैँ,तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै पश्चिम नवलपरासीका विभिन्न चार स्थानमा यात्रु सहायत कक्ष स्थापना गरिएको छ ।
यात्रुहरुको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरु हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाको पूर्वपश्चिम राजमार्ग,हुलाकी राजमार्ग तथा सीमा क्षेत्रमा गरी चार स्थानमा जिल्ला प्रहरी कार्यालयले यात्रु नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाटको टीसिएन चोक र सुनवल–१२ भूमही चोक, हुलाकी सडक अन्र्तगत रामग्राम–५ वाइपास चोक तथा नेपाल भारत सीमा महेशपुर नाकामा यात्रु नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।
“यात्रुलाई सुरक्षित र सहज आवागमनमा सहजीकरण गर्दै बढी भाडा असुल्ने, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने,आरक्षण सीट तथा यात्रुको सामान छुट्ने,चोरी लुटपाट हुन सक्ने,ट्राफिक नियम विपरीत सवारी साधन चलाउने जस्ता गतिविधि निस्तेज गर्न चाडपर्व सुरक्षा योजना अन्र्तगत सहायता कक्ष स्थापना गरेका हौँ”,डिएसपी पन्तले भन्नुभयो ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पश्चिम नवलपरासी प्रहरीले विशेष सुरक्षा योजना लागू गरिसकेको छ । अन्य चाडपर्वमा भन्दा दसैँ तिहार बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधजन्य घटना समेत बढ्न सक्ने भएकोले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनका लागि प्रहरी परिचालन गरिएको डिएसपी पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरक्षा योजनामा सीमा क्षेत्रको सुरक्षादेखि बैंक वित्तीय संस्था र सुनचाँदी पसलहरुको विशेष निगरानी एवं सडक सुरक्षा समेत समेटिएको छ । जसको लागि जिल्लाभर ५ सय १६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वको समयमा हुन सक्ने चोरी डकैती,लुटपाट तथा शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने अपराधिक क्रियाकलापलाई निस्तेज गरिने प्रहरीले जनाएको छ ।
सुरक्षा योजना अनुसार घटना दुर्घटनामा तत्काल परिचालन हुने गरी २७ वटा मोटरसाइकलसहितको क्यूआर टीम परिचालन गरिएको छ । लागूऔषध, हातहतियार,अवैद्य गतिविधि नियन्त्रणका लागि सीमा नाकमा जाँच,कालोबजारी नियन्त्रण,मादक पदार्थ सेवन तथा लागू पदार्थ सेवन जाँचलाई कडाइका लागि चौविसै घण्टा ट्राफिक प्रहरीसहितको जाँचको व्यवस्था मिलाइएको छ ।
चौविसै घण्टा राजमार्ग चेकिङ्ग एवं पूर्वपश्चिम राजर्मा र हुलाकी राजमार्ग क्षेत्रमा हातहतियारसहितको पेट्रोलिङ्ग गस्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस