मोहन पौडेल/दैनिक24 खबर
परासी, ६ असोज । लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्धारा जारी निर्देशनको पूर्ण पालना गर्दै आफ्नो २८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा प्रधान कार्यालय रहेको यस सहकारीले सेवा केन्द्र स्तरीय इकाइगत साधारणसभाहरु गरी संस्थाको गतवर्षको समिक्षा र आगामी कार्ययोजना पारित गरेको हो ।
सहकारी नियमन प्राधिकरणले गत भदौ १७ गते बचत तथा ऋण सहकारीको साधारणसभालाई मितव्ययी र सदस्य केन्द्रित गर्न जारी गरेको ८ बुँदे निर्देशन बमोजिम संस्थाका शेयर सदस्यहरुको मात्र उपस्थितिमा साधारणसभा सम्पन्न गरेको अध्यक्ष लेखनाथ खरेलले बताउनुभयो ।
प्राधिकरणले सम्बन्धित सहकारीको सदस्य नभएको तथा नियमन निकायका कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी नगराउने,उद्घाटनसत्र,आसनग्रहण,मनतव्य लगायतका औपचारिक समय व्यतीत गर्ने क्रियाकलाप नगरी सिधै साधारणसभाको एजेण्डामा प्रवेश गर्ने,अतिथि सत्कार, यातायात खर्च लगायतका फजुल खर्च नगर्न सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।
लुम्बिनी सुनवल साकोसको सोमबार भूमहीमा आयोजित साधारणसभामा संस्थाका सदस्यहरुले भने प्राधिकरणले जारी गरेको अन्य निर्देशन ठिक भएपनि यातायात खर्च नदिन गरेको निर्देशनप्रति भने असहमति जनाएका थिए । तर अध्यक्ष खरेलले संस्थाको दिगो विकासका लागि विधि विधान र मितव्यीता अपनाउनुको विकल्प नभएकोमा जोड दिनुभएको थियो ।
मूख्य कुरा बचतको सुरक्षा रहेको बताउँदै अध्यक्ष खरेलले तत्कालका लागि यातायात खर्च नपाउँदा खल्लो लागेपनि उक्त रकम संस्थाको मुनाफामा जोडिने र बोनसको रुपमा सदस्यकै खातामा आउने भएकोले नियमनकारी निकायको निर्देशन पालना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
“प्रचलित कानूनको पालना गर्दै सदस्यहरुको हित, बचतको सुरक्षा,सहज ऋण प्रवाह, प्रविधियुक्त सेवा, सीप र उद्यमशीलताको विकास, सामाजिक उत्तरदायित्व तथा व्यवसाय बृद्धिमा लुम्बिनी सुनवल साकोसले विशेष ध्यान केन्द्रीत गर्दै आएको छ, आगामी दिनमा पनि हामी संस्थालाई यस क्षेत्रकै उत्कृष्ट र विश्वासिलो सहकारी बनाउने अभियानका साथ अघि बढ्नेछौँ”,अध्यक्ष खरेलले भन्नुभयो ।
साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन एवं लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन गहन छलफलसहित पारित गरेको छ । २६ वर्ष अघि स्थापना भएको यो सहकारी नवलपरासी जिल्लाकै ठूलो सहकारीमा पर्दछ । उत्कृष्ट,मर्यादित एवं सुरक्षित वित्तीय सहकारी बनाउने परिकल्पना साकार पार्ने प्रतिबद्धतासहित लुम्बिनी सुनवल साकोसलाई यस क्षेत्रकै उत्कृष्ट, विश्वासिलो र बलियो सहकारीको रुपमा स्थापित गर्न लागिपरेको अध्यक्ष खरेलले बताउनुभयो ।
८ हजार ७४५ शेयर सदस्य रहेको यो सहकारीले गत आर्थिक वर्ष २०८१।०८२ मा रु दुई करोड ६० लाख २७ हजार शुद्ध मुनाफा आर्जन गर्न सफल भएको सहकारीका कोषाध्यक्ष तीर्थराज उपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुतीको क्रममा जानकारी दिनुभयो । सहकारीले वार्षिक रु एक अर्ब ७ करोड बढीको कारोबार गरेको छ। रु दश करोड २१ लाख ३० हजार शेयर पुँजी रहेको लुम्बिनी सुनवल साकोसले रु ८० करोड ४२ लाख लगानी गरेको छ । आगामी आर्थिक वर्षमा रु एक अर्ब १८ करोड बढीको कारोबार गरी झण्डै रु तीन करोड मुनाफा आर्जन गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव तारा आचार्यले शेयर सदस्यलाई उद्यमसँग जोड्ने गरी संस्थाले विभिन्न गतिविधिहरु गर्दै आएको बताउनुभयो । सभाले विभिन्न १६ वटा प्रस्तावहरु माथि छलफल गरी पारित गरेको उहाँले बताउनुभयो । सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, सरावल गाउँपालिका तथा रामग्राम नगरपालिकाको वडा नं.४,११,१२,१४ र १८ नम्बर कार्यक्षेत्र रहेको लुम्बिनी सुनवल साकोसले असोज ३ गते अस्नैया सेवा केन्द्र सुनवल,४ गते मुख्य सेवा केन्द्र सुनवल र शनिबार प्रधान कार्यालय भूमहीमा साधारणसभा सम्पन्न गरेको सचिव आचार्यले जानकारी दिनुभयो ।
सभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक रामचन्द्र पौडेलले सहकारी ऐन,नियम तथा मापदण्डहरुको पूर्ण पालना गर्दै सहकारीको लेखा प्रणाली थप व्यवस्थित र पारदर्शी बनाउन सुझाव दिनुभएको थियो । सभालाई सम्बोधन गर्दै संस्थाका शेयर सदस्य एवं सुनवल नगरपालिकाका उपमेयर सूर्यप्रसाद दुवेले संस्था बलियो हुँदै गएको तर सदस्य केन्द्रीत क्रियाकलाप अझै कमी रहेको बताउँदै सदस्य हितका कार्यक्रमलाई विशेष जोड दिन आग्रह गर्नुभयो । संस्थाकै संरक्षक एवं पूर्व उपमेयर दधिराम अर्यालले देशका विभिन्न सहकारीमा देखिएको वेथितिको प्रभाव यहाँ पनि देखिन सक्ने भन्दै सञ्चालक र सदस्य सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । उक्त अवसरमा संस्थाका संरक्षक एवं जिल्ला सहकारी संघका सचिव चण्डीप्रसाद पाण्डे, संस्थाका पूर्व अध्यक्ष डिल्लीराज पाण्डे,सल्लाहकार सूर्यप्रसाद न्यौपानेले पनि संस्थाको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको संस्थाका व्यवस्थापक बद्री पौडेलले जानकारी दिनुभयो ।