दैनिक24 खबर
परासी, ६ भदौ । लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले मौलिक धर्म संस्कृति संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभएको छ ।
हरितालिका तीजको अवसरमा रामग्राम सेकेण्डरी स्कुल रामग्राम ३ परासीद्धारा शुक्रबार आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद जयसवालले मौलिक संस्कृतिको संरक्षणसँगै पुस्तान्तरण जरुरी रहेको बताउनुभएको हो । उहाँले तीजको मूल मर्मलाई आत्मसाथ गरी मौलिक ढंगबाट तीज मनाउन आग्रह पनि गर्नुभयो ।
विद्यालयको सञ्चालक संस्था रामग्राम एजुकेशन फाउण्डेसनका अध्यक्ष ओमप्रकाश अग्रहरीले गुणस्तरीय शिक्षासँगै बालबालिकाको प्रतिभा प्रस्फुटन र संस्कृति संरक्षणमा विद्यालयले जोड दिएर अघि बढेको बताउनुभयो । यस कार्यक्रमबाट विद्यार्थीले तीजको मौलिक संस्कृतिलाई नजिकबाट बुझ्ने र ग्रहण गर्ने मात्र नभइ कला उजागर गर्न र अनुशासित बन्न सघाउ पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्यालयका सञ्चालकहरु नगेन्द्र अग्रहरी, नगेन्द्र यादव, परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेल,शिक्षक कुसुम पाण्डे लगायतले तीजको महत्वबारे प्रकाश पार्नुभएको विद्यालयका प्रिन्सिपल धर्मेन्द्र यादवले जानकारी दिनुभयो ।
उक्त अवसरमा शिक्षक सरोज क्षेत्री र शोभा विकको विशेष संयोजनमा विद्यालयमा अध्ययनरत बालिकाहरुले तीजका गीतमार्फत आफ्नो नृत्यकला प्रदर्शन गरेका थिए ।