२०८२ श्रावण ३२, शनिबार
24 खबर अपडेट

नयाँ पर्यटकीय गन्तव्य सरावलको रजहवा वन वाटिकामा ५१ फिट अग्लो शिव मूर्ति

२०८२ श्रावण ३२, शनिबार प्रकाशित ( घण्टा अघि) १६६ पाठक संख्या

मोहन पौडेल/दैनिक24 खबर 
परासी,३१ साउन । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यका साथ पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ बासाबसहीस्थित रजहवा शान्ति वनवाटीकामा भगवान शिवको ५१ फिट अग्लो बिशाल मूर्ति निर्माण भइरहेको छ।
पोखराको पुम्दीकोटको जस्तै झल्को दिने गरी जनस्तरबाट संकलित रकम र स्थानीयवासीको सहभागितामा रजहवा नयाँटोलमा भव्य र आकर्षक महादेव शिव मूर्ति निर्माण गरिएको हो । जनस्तरबाट संकलन भएको आर्थिक सहयोग, श्रमदान र सामुदायिक एकताबाट निर्माण भइरहेको यो मूर्तिले धार्मिक आस्था र पर्यटन प्रवद्र्धन मात्र होईन, एकता र साझेदारीको उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेको छ ।
गत पुस महिनामा निर्माण शुरु गरिएको बिशाल शिव मूर्तिको करिब आधा काम सकिएको छ भने आगामी शिवरात्रीसम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको रहजवा शान्ति वन वाटीका तथा अनुसन्धान केन्द्रका अध्यक्ष जनार्दन भण्डारीले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो । हालसम्म नागरिक स्तरबाटै संकलित रकमबाट मूर्ति निर्माणको काम भइरहेको बताउँदै उहाँले थप सहयोगका लागि आह्वान पनि गर्नुभयो ।
करिब रु एक करोड १० लाख लागत अनुमान गरिएको उक्त मूर्ति निर्माणका लागि हालसम्म २६ लाख रुपैयाँ संकलन भएको र २४ लाख खर्च भइसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । विराट मूर्तिसँगै १०८ गौमुखी धारा,एक लाख ११ हजार १११ शिला शालिग्राम सहितको धार्मिक संग्रालय र वाटर फाउण्टेन पार्क निर्माण गर्ने समितिको योजना छ। जनस्तरबाट संकलित रकमबाट मात्र यी सवै पूर्वाधार निर्माण गर्न सम्भव नभएकोले अव तीनै तहका सरकारसँग सहयोगको अपेक्षा गरिएको समितिले जनाएको छ ।
बासा चोकबाट करिब दुई किलोमिटर उत्तरमा करिब १३ विघा क्षेत्रफलमा टापु आकारमा फैलिएको रजहवा शान्ति वन वाटीका शान्त र मनोरम वातावरणमा अवस्थित छ । उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीयवासीको सक्रियतामा पर्यटकीय पूर्वाधारहरु निर्माण भइरहेका छन् ।

यस स्थानमा पूरानो दुर्गामन्दिर,राम मन्दिर, शिव मन्दिर,गणेश मन्दिर, सूर्य मन्दिर, वाटर फाउण्टेन पार्क लगायतका संरचना छन् । यस क्षेत्रलाई पञ्चेश्वर धामको रुपमा समेत स्थापित गर्ने योजना रहेको वन वाटीकाका सचिव लिलाधर पाण्डे बताउनुहुन्छ ।
आगामी दिनमा ध्यान केन्द्र, खेल मैदान,ताल निर्माण लगायत पर्यटकीय पूर्वाधार सहितको नमूना पार्क बनाउने गरी रु २७ करोड बराबरको डिपीआर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रको बृहत्तर विकासका लागि विगतमा पनि स्थानीय,प्रदेश तथा संघीय सरकारको सहयोगबाट विभिन्न पूर्वाधारहरु निर्माण गरिएको समितिका उपाध्यक्ष दिवश रेग्मी बताउनुभयो ।
पार्कको अवलोकनमा पुग्नुभएका नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले दैनिक ट्वान्टीफोर खबरसँग कुरा गर्दै यो क्षेत्र धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनबाटै मुलुकको समृद्धि सम्भव रहेको बताउँदै अध्यक्ष अग्रहरीले पार्कको विकासका लागि निजी क्षेत्र पनि हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

K

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस