२०८२ श्रावण २९, बुधबार
24 खबर अपडेट

सुस्तामा वायु प्रदुषण नियन्त्रणका लागि ठोस नीति तय गर्न गाउँपालिकालाई सुझाव

२०८२ श्रावण २९, बुधबार प्रकाशित ( घण्टा अघि) ७१ पाठक संख्या

परासी, २८ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकालाई वायु प्रदुषण व्यवस्थापनका लागि ठोस नीति निर्माण गरेर प्रभावकारी कदम चाल्न सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्लाको सुस्ता–१ नौडिहवामा बुधबार आयोजित ‘स्वच्छ सुस्ता, स्वस्थ सुस्ता ः वायु प्रदुषणको संकट र हाम्रो साझा दायित्व’ विषयक संवाद कार्यक्रममा सहभागिहरुले वायु प्रदुषणलाई स्वास्थ्य र वातावरणका लागि गम्भीर चुनौतीका रुपमा लिँदै आवश्यक पहल गर्न सुझाव दिएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी, परासी प्रेस क्लव र सुस्ता गाउँपालिकाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिले भने यसका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।

B2

गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले उद्योग कलकारखानाको नवीकरण गर्दा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य नहुँदा प्रदुषण नियन्त्रण चुनौतीपूर्ण बनेको टिप्पणी गर्नुभयो । “पालिका भित्रका उद्योगहरुले वर्षेनी नवीकरण गर्दा गाउँपालिकाको सिफारिस अनिवार्य गरेको भए प्रदुषण न्यूनीकरण गर्न गाउँपालिकालाई धेरै सजिलो हुन्थ्यो”,उहाँले भन्नुभयो, “संघीय सरकारले पालिकाको सिफारिस खोल्दैन्,उद्योग चलेकै छन्, नवीकरण भएकै छन्, प्रदुषण गरेकै छन्,हामीलाई टेर्दैनन्,पालिकाको सिफारिस अनिवार्य गर्ने हो भने हामीले प्रदुषण नियन्त्रणका लागि कडाइ गर्न सक्थ्यौँ ।”
गाउँपालिका अध्यक्ष उपाध्यायले वायु प्रदुषण व्यवस्थापनका लागि नागरिकलाई सचेत बनाउने प्रतिबद्धता भने व्यक्त गर्नुभयो । “विद्यालय, टोल विकास संस्था र समुदायमा वायु प्रदुषणका कारण र त्यसको असर बारे नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ”,उहाँले भन्नुभयो, “यसमा तीनै तहका सरकार लाग्नुपर्छ, हाम्रा नागरिकलाई चेतनशील बनाउनुपर्छ,कम्तिमा महिनाको एकपटक सचेतना प्रदान गर्यौँ भने सचेत हुन्छन् ।”
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले स्थानीय सरकारले कानून बनाएर प्रदुषण नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । त्यसका लागि हिम्मतका साथ अघि बढ्न उहाँले सुझाव दिनुभयो । सुस्ता–४ का वडा अध्यक्ष नील बहादुर गुरुङ्गले वातावरण सरसफाइ, हरियाली प्रवद्र्धन,धुलो धुँवा नियन्त्रण लगायतका विषयमा बजेट नै छुट्याएर जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागि पत्रकारहरुले सवारी साधनको धुवाँ नियन्त्रण,प्लाष्टिक जलाउने प्रवृत्ति रोकथाम, सडकको धुलो कम गर्ने उपाय, गहुँ उखु काटिसकेपछि आगो लगाउने प्रवृत्तिलाई निरुत्साहित,उद्योगहरुको प्रदुषण रोकथामका लागि प्रभावकारी नीति बनाएर अघि बढ्न आग्रह गरेका थिए ।

B3

कार्यक्रममा सहजीकरण गर्दै रेडक्रसद्धारा सञ्चालित जलवायु प्रतिरोधात्मक स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाका संयोजक अनुप खड्काले वायु प्रदुषणका कारण पृथ्वीको तापक्रम वृद्धि र जलवायु प्रणालीमा दीर्घकालिन असर परिरहेको बताउनुभयो । “वायु प्रदुषणले वातावरणीय तापक्रम वृद्धि मात्र होइन, वर्षा चक्रमा असन्तुलन,हिमनदीको दु्रत पग्लन,बेमौसमी बाढी तथा खडेरी जस्ता विपदहरु बढाउँछ”, उहाँले भन्नुभयो, “प्रदुषित हावाले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्दै दम, हृदय रोग, फोक्सो सम्बन्धी समस्या बढाउँछ ।”
परियोजना संयोजक खड्काले वायु प्रदुषण सुस्ताको गम्भीर तर समाधान गर्न सकिने समस्या भएको भन्दै घरभित्रको धुवाँ,उद्योग र खेतमा बालिने आगो मूख्य चुनौती रहेकोले स्थानीय सरकारको नेतृत्व र सबै नागरिकको सक्रिय सहभागिता बिना समाधान सम्भव नभएको उल्लेख गर्नुभयो ।
परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेलको सञ्चालनमा भएको उक्त कार्यक्रममा परासी प्रेस क्लवका पूर्व अध्यक्ष बेचु गौड,बर्दघाट प्रेस क्लवका अध्यक्ष कृष्ण ढकाल, सरावल प्रेस क्लवका अध्यक्ष उमेश विक,नवलपरासी महिल प्रेस क्लवकी अध्यक्ष कल्पना खरेल,सञ्चारिका समूहकी अध्यक्ष विष्णु खनाल,पत्रकार आरपी उपाध्याय, मुक्ति तिवारी लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन क्षेत्रीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस