मोहन पौडेल
परासी, २८ साउन । पूर्वमन्त्री हृदयेश त्रिपाठीले आर्थिक मन्दी नियन्त्रणतर्फ सरकारको चिन्तन नदेखिएको बताउनुभएको छ । मन्दीका कारण मुलुकको अर्थतन्त्र नै धरासायी बनेको र त्यसको प्रत्यक्ष असर मुलुक निर्माणमा परेको उहाँले बताउनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार पश्चिम नवलपरासीको प्रतापपुर–९ बेलाटारीमा आयोजित क्षेत्रीय भेला तथा करदाता शिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले ठूला व्यावसायिक घरानाका कारण मुलुकको अर्थतन्त्र धरासायी बनेको टिप्पणी गर्नुभयो ।
“विद्यमान अर्थतन्त्रमा देखिएको समस्याका कारण मन्दी अझै केही समय जाने देखिन्छ,हामीले कम्मर कसेर त्यसको सामना गर्र्नै पर्र्ने अवस्था देखिन्छ”, उहाँले भन्नुभयो, “यो मन्दीको कारण के हो यसलाई कसरी हटाउने भन्ने विषयमा सरकारको तर्फबाट वा अन्य निकायको तर्फबाट एउटा पनि राष्ट्रिय चिन्तन भएको छैन ।”
नेता त्रिपाठीले नेपालका ३० जना घरानाले ७० प्रतिशत ऋण लिएर राखेका कारण अर्थतन्त्र धरासायी बनेको जिकिर गर्नुभयो । बैंक, सहकारी तथा वित्तीय संस्थाहरुमा बढेको वेथितीका कारण पनि अर्थतन्त्रमा ठूलो असर परेको उहाँले बताउनुभयो ।
वर्तमान संघीय संसदमा एक दर्जन बढी व्यावसायिक पृष्ठभूमिका सांसदहरु नीति निर्माणको तहमा रहेपनि उनीहरुले समेत अर्थतन्त्र सुधार र निजी क्षेत्र चलायमान बनाउने विषयमा कुनै पहल गर्न नसकेको त्रिपाठीले ठोकुवा गर्नुभयो । निजी क्षेत्रको विकास विना देश विकास सम्भव नभएको उहाँको भनाइ थियो । राज्यले विभिन्न बहानामा ४३ किसिमका कर लिने गरेको बताउँदै नेता त्रिपाठीले करलाई सरलीकृत गरी सरकारले सहज व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघका कार्यकारी सदस्य एवं क्षेत्रीय संयोजक केशव चापागाइको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले निजी क्षेत्रको प्रवद्र्धनमा राज्यले विशेष जोड दिनुपर्ने बताउनुभयो । उद्योगी व्यवसायी कर तिर्न तयार रहेको तर एकद्धार प्रणाली हुनुपर्ने भन्दै उहाँले कोरोना महामारीपछि व्यवसाय उठ्न नसकेको उल्लेख गर्नुभयो । उहाँले औद्योगिक र व्यावसायिक वातावरण कायम राख्न सबैको साथ सहयोग र सहकार्यमा जोड दिनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले राज्यले उठाउने कर मध्ये ७० प्रतिशत योगदान निजी क्षेत्रको रहेको बताउनुभयो । अध्यक्ष अग्रहरीले मूल भन्सारमा स्तरोन्नती भएर पनि पूर्ण सञ्चालन हुन नसकेको महेशपुर भन्सारका क्वारेन्टाइन लगायतका पूर्वाधर निर्माणमा पहल गरिदिन नेता त्रिपाठीको ध्यानाकर्षण गराउनुभयो । उद्योगी व्यवसायीको हित र व्यवसाय प्रवद्र्धनमा नवलपरासी उद्योग वाणिज्य संघ निरन्तर क्रियाशील रहेको बताउँदै अध्यक्ष अग्रहरीले संघमा आवद्ध हुन उक्त क्षेत्रका व्यवसायीलाई आह्वान पनि गर्नुभयो ।
कार्यक्रममा करदाता सेवा कार्यालय परासीका प्रमुख फर्शुराम पोखरेलले कर सम्बन्धी विद्यमान नीति र आर्थिक ऐनमा रहेका व्यवस्थाहरुको विषयमा सहजीकरण गर्नुभएको थियो भने नलवपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, कार्यकारी सचिव रामशंकर कुर्मी, त्रिभुवन क्याम्पस बेलाटारीका अध्यक्ष अमुल पाण्डे लगायतले व्यवसायीले भोग्नुपरेका समस्याहरुको बारेमा प्रकाश पार्नुभएको थियो । नवलपरासी उद्योग वाणिज्य संघ अन्र्तगतको क्षेत्र नं. १ र २ का व्यवसायीको क्षेत्रीय भेला सम्पन्न भएको हो ।