परासी, २२ साउन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ बासाबसहीमा विहीबार ४० जनाले रक्तदान गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ,जिल्ला समन्वय परिषद्ले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रम जनजाति महासंघ स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो । जिल्लामा रगत अभाव हुँदा बिरामी छट्पट्याउनु पर्ने अवस्था नआओस भनेर आफ्नो स्थापना दिवसमा समाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरिएको नेपाल आदिवासी जनजाति महासंघकी जिल्ला अध्यक्ष तारा रानाले जानकारी दिनुभयो ।
महासंघकी अध्यक्ष रानाको अध्यक्षता तथा पूर्व जिल्ल अध्यक्ष एवं सल्लाहकार संयोजक देवराज चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले आदिवासी जनजातिहरुको सांस्कृतिक, भाषिक, धार्मिक तथा मौलिक पहिचान स्थापित गर्ने अवसरको रुपमा दिवसलाई उपयोग गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा महासंघका सल्लाहकार एवं सुनवल–१ का वडा अध्यक्ष मनबहादुर थापा, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरी लगायतले रक्तदान र यसको महत्वको विषयमा प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभएको आदिवासी जनजाति महासंघका जिल्ला सचिव देवान गुरुङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा मनबहादुर थापा, शिवप्रसाद चौधरी, एमबी सप्लायर्स, सन्देश जनरल स्टोर्स तथा गुप्ता किराना पसलको विशेष सहयोग गरेको संस्थाले जनाएको छ ।