मोहन पौडेल
परासी, ११ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित साप्ताहिक हाटबजारमा व्यवसाय गर्दै आएका व्यापारीहरुले बैठकी कर अत्याधिक भएको गुनासो गरेका छन् । व्यापार कम तर कर बढी हुँदा व्यवसाय नै संकटमा परेको भन्दै उनीहरुले करको दर पुनरावलोकन हुनुपर्ने माग गरेका हुन् ।
हाटबजारका व्यवसायीको समस्या बुझ्न शनिबार हाटबजार निरीक्षणमा पुगेको नवलपरासी उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलसँग व्यवसायीहरुले उक्त गुनासो गरेका हुन् । संघका अध्यक्ष ओमप्रकाश अग्रहरी नेतृत्वको टोलीले हाटबजारका व्यवसायीसँग प्रत्यक्ष संवाद गरी उनीहरुका समस्या जानकारी लिएको थियो ।
अपेक्षाकृत व्यापार नभएको अवस्थामा बैठकी कर वृद्धि हुँदा साना व्यवसायी विस्थापित हुने अवस्था रहेको हाटबजार व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले बताउनुभयो । बजारमा उच्चदरमा कर उठाउने तर खानेपानी,सरसफाइ,शौचालय लगायत व्यवस्थित नगर्दा व्यवसायी विस्थापित हुन थालेको कपडा व्यवसायी अग्रहरीको भनाइ थियो ।
रामग्राम नगरपालिकाले हाटबजारका व्यवसायीसँग ३० रुपैयाँदेखि ३०० रुपैयाँसम्म बैठकी कर संकलन गर्दै आएको छ । उद्योग वाणिज्य संघको टोलीले हाटबजारका कपडा, किराना,तरकारी,फलफूल,माछामासु,होटल लगायत सञ्चालन गरिरहेका व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका समस्या सुनेको थियो । हाटबजार व्यवसायीका समस्या गम्भीर रहेको बताउँदै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले व्यवसायका प्रकृति र आम्दानीका आधारमा बैठकी कर पुनःनिर्धारण गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । यस विषयमा रामग्राम नगरपालिकासँग आवश्यक समन्वय गरी नीतिगत सुधारको पहल गरिने अध्यक्ष अग्रहरीले उल्लेख गर्नुभयो।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष अग्रहरीसहित वाणिज्य उपाध्यक्ष राजेश गुप्ता, कार्यकारी सदस्य अमरचन्द्र अग्रवाल,राजु देवान,बालकिशुन बानिया,लेखा संयोजक अर्जुन क्षेत्री,हाट बजार व्यवसायी संघ जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरी, पत्रकार लगायतको टोलीले शनिबारे हाटबजारको अवस्था र व्यवसायीका समस्याका बारेमा जानकारी लिएको हो ।